२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

मानव–बाघ द्वन्द्व: संरक्षण र सुरक्षामा गम्भीर चुनौती

-कविता भट्टराई

पछिल्लो समय नेपालमा मानव र बाघबीचको द्वन्द्व दिनानुदिन चर्कँदो छ। एकातिर बाघको आक्रमणबाट घाइते हुने तथा ज्यान गुमाउनेको संख्या बढ्दो छ भने अर्कोतिर बाघको संख्या तीव्र रूपमा वृद्धि भइरहेको छ। संरक्षणको सफलतासँगै देखिएको यो अवस्था अहिले गम्भीर सामाजिक र मानवीय संकटको रूपमा उभिएको छ।

WWF को पछिल्लो तथ्यांकअनुसार विश्वव्यापी रूपमा बाघको संख्या ५,३५७ पुगेको छ। यसमा भारत पहिलो स्थानमा छ, जहाँ ३,१६७ बाघ छन् भने नेपाल चौथो स्थानमा रहेको छ। सन् १९०० सम्म विश्वभर करिब एक लाखको हाराहारीमा रहेको बाघको संख्या सन् २०१० मा घटेर मात्र ३,२०० मा सीमित भएपछि अन्तर्राष्ट्रिय समुदायले बाघको संख्या दोब्बर बनाउने अभियान सुरु गरेको थियो। सोही अभियानअन्तर्गत नेपालले पनि ठूलो लगानी र प्रतिबद्धता जनायो।

तर राष्ट्रिय निकुञ्ज तथा वन व्यवस्थापन प्रभावकारी नहुँदा पछिल्लो समय मानविय क्षति, घरपालुवा पशुधनको नोक्सानी र स्थानीय समुदायमा भयको वातावरण सिर्जना भएको छ।

बढ्दो मानवीय क्षति

यही पुस २३ गते मात्र भेरीगंगा नगरपालिका–५, गेरवानीमा गंगा सारुको बाघको आक्रमणबाट ज्यान गएको छ। सोही स्थानमा यसअघि पनि दुई जनाको ज्यान बाघकै आक्रमणबाट गएको थियो। त्यसैगरी पुस २५ गते सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–घुइयाबारीमा ४२ वर्षीया धनसरी रावतको बाघको आक्रमणबाट मृत्यु भएको विभिन्न स्रोतहरूले जनाएका छन्। बर्दिया जिल्लामा मात्र यही पुस महिनामा करिब पाँच जनाले बाघको आक्रमणमा ज्यान गुमाइसकेका छन्।

आर्थिक वर्ष २०८२/०८३ मा मात्रै करिब ५३ जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ, जसमध्ये बर्दियामा मात्र ३४ भन्दा बढीको ज्यान गएको अवस्था छ। यस्तो जटिल र गम्भीर परिस्थितिमा पनि स्थानीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरू अपेक्षित रूपमा सक्रिय देखिँदैनन्। समुदायमै प्रवेश गरी बाघले आक्रमण गरिरहेको अवस्था अत्यन्तै गम्भीर हो, तर राज्यले यसलाई पर्याप्त प्राथमिकतामा राखेको देखिँदैन।

संरक्षणमा सफलता, सुरक्षामा कमजोरी

नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेको थियो। यसको परिणामस्वरूप सन् २०१७ मा १२१ मा सीमित बाघको संख्या सन् २०२२ मा बढेर ३५५ पुगेको छ। नेपालमा प्रत्येक ४–४ वर्षमा बाघ गणना हुने व्यवस्था छ र यही पुस १ गतेबाट नयाँ बाघ गणना सुरु भएको छ। तर विडम्बना, सोही दिन बर्दियाको बारबर्दिया नगरपालिका–१० स्थित फेनापति सामुदायिक वनमा पार्वती डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको थियो। पुस महिना सुरु भएदेखि मात्र करिब पाँच जनाले ज्यान गुमाइसकेका छन्।

अघिल्लो तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१ र शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा ३६ गरी जम्मा ३५५ बाघ रहेका छन्। बाघको संख्या वृद्धि हुनु पर्यटन र जैविक विविधताको दृष्टिले गौरवको विषय भए पनि यससँगै बढ्दो मानवीय क्षतिलाई नजरअन्दाज गर्न सकिँदैन।

अब के गर्नुपर्छ ?

सरकारले नागरिकको जिउ–ज्यानको सुरक्षा पहिलो प्राथमिकतामा राख्नुपर्छ। वन्यजन्तु संरक्षणसँगै मानव संरक्षण पनि उत्तिकै महत्वपूर्ण विषय हो। यसका लागि—

राष्ट्रिय निकुञ्ज वरिपरि तारबार तथा प्रभावकारी सुरक्षाको व्यवस्था

बाघको वासस्थान व्यवस्थापन र जैविक मार्ग (Biological Corridor) निर्माण

संरक्षित क्षेत्र विस्तार

राष्ट्रिय निकुञ्ज आसपासका स्थानीयलाई वैकल्पिक आयआर्जनका कार्यक्रम

उच्च जोखिम क्षेत्र घोषणा गरी विशेष सुरक्षा योजना लागू

मानव–बाघ सहअस्तित्व कार्यक्रम सञ्चालन

दीर्घकालीन, भयमुक्त सुरक्षा रणनीति निर्माण अत्यावश्यक देखिन्छ।

विभिन्न वातावरणविद् तथा राष्ट्रिय निकुञ्ज विभागका अनुसार नेपालमा करिब ४०० भन्दा बढी बाघ धान्न सक्ने क्षमता छैन। यस्तो अवस्थामा क्षमता भन्दा बढी बाघको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पूर्वानुमानसहित दीर्घकालीन योजना आवश्यक छ। साथै स्थानीय नागरिकहरूले पनि जंगल जाँदा समूहमा जाने, सतर्क रहने र जोखिम न्यूनीकरणमा आफ्नै तहबाट सचेत हुनुपर्ने आवश्यकता छ।

निष्कर्ष

जनावरलाई सम्झाउन सकिँदैन, तर जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक सचेत र सजग हुन सकिन्छ। बाघको आतंकका कारण मानव र घरपालुवा जनावर दुवैमा क्षति भइरहेको वर्तमान अवस्थामा सम्बन्धित निकायहरूले समयमै ध्यान नदिए यो समस्या झन् विकराल बन्ने खतरा प्रबल छ। त्यसैले राज्य, स्थानीय तह, सरोकारवाला निकाय र नागरिक सबैको साझा प्रयासबाट मात्र मानव–बाघ द्वन्द्वको दिगो समाधान सम्भव छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार १२:५१