३० पुष २०८२, बुधबार | Wed Jan 14 2026

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

३० पुस, तनहुँ । जिल्लाको व्यास नगरपालिका–५ स्थित मानुङकोटवासीले वर्षौंदेखि खानेपानी समस्या खेप्दै आएकामा चालु आर्थिक वर्षदेखि उक्त समस्या समाधान हुने भएको छ । मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न भएसँगै चालु आवदेखि खानेपानी वितरण गरिने आयोजना कार्यालयले जनाएको छ ।

सङ्घीय सरकारबाट गत वर्ष रु दुई करोड बजेट विनियोजन भएपछि सुरु गरिएको कामको हालसम्म ८० प्रतिशत काम पूरा भइसकेको छ भने तीव्र गतिमा काम भइरहेकाले चालु आवमा सम्पन्न गर्न नगरपालिका सक्रिय रहेको छ ।

अन्तिम चरणमा रहेको उक्त आयोजना सम्पन्न गर्नका लागि व्यास नगरपालिकाले आन्तरिक स्रोतबाट रु ८५ लाख बजेट विनियोजन गरेको छ । सोही वडास्थित पासर्दी खानेपानी मुहानबाट तीन चरणमा लिफ्टिङ गरी पानी लैजान लागिएको व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मुहानबाट करिब ५०० मिटर उचाइमा लिफ्टिङ गरी मानुङकोटमा पानी पु¥याउन लागिएको हो ।

वडाध्यक्ष श्रेष्ठले भौतिक निर्माणका सबै संरचना सकिएका बताउँदै अब विद्युत्का खम्बा गाड्ने, ट्रान्समिटर जडान गर्ने, पानी लिफ्ट गर्नेलगायत काम बाँकी रहेका उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मुहानमा निर्माण गरिएको इन्टेकबाट एक लाख लिटर क्षमताका एक र ३० हजार लिटर क्षमताका दुई रिर्जभ ट्याङ्की निर्माण गरिएका छन् ।”

मानुङकोट क्षेत्रका बासिन्दालाई पानी पुग्ने गरी मुहानमा इन्टेक बनाउने काम अघि बढिसकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि इन्टेक नजिक एक लाख लिटर, बीचमा तीस/तीस हजार लिटरका दरले दुई र मानुङकोटमा एक लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण गरिएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव रहँदै आएका स्थानीयले बताएका छन् । “केही मुहानमा विवाद हुँदा निर्माण ढिलाइ भयो, यो आयोजनाका विषयमा अदालतबाट नगरपालिकाको पक्षमा फैसला भएको छ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “बाँकी काम सम्पन्न गरी बढीमा दुई–तीन महिनाभित्र खानेपानी पुर्याउने लक्ष्य लिइएको छ ।”

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा पानीको ट्याङ्की निर्माण गर्न थालिएको बताउनुभयो । “यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिवद्ध छ”, उहाँले भन्नुभयो, “हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदैछौँ, यहाँको खानेपानी समस्या अब छिट्टै समाधान हँुदैछ ।”

विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँसरी मानुङकोटको फेदीतर्फ झरेका छन् । पानी सहज हुने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि पुनः फर्किन थालेका छन् । करिब पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

“विगतमा करिब ५०–६० घरधुरी बस्दै आएकामा पानीको समस्या भएपछि स्थानीय मानुङकोटको फेदी अलैचे, पाटनतर्फ झरेका हुन् । मानुङकोटमा केही सुविधासम्पन्न होटल बन्ने क्रममा छन्”, उहाँले भन्नुभयो ।

पछिल्ला समय यहाँ सुविधासम्पन्न होटल बन्दै गए पनि पानीको समस्या समाधान नहुँदासम्म सास्ती भोग्नुपरेको व्यवसायी चूडामणि दाहालले बताउनुभयो । “ढिलै भए पनि खानेपानी आउँछ भन्नेमा मानुङकोटवासी ढुक्क छौँ । नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि देखाएको तदारुकता सराहनीय छ”, उहाँले भन्नुभयो ।

दमौलीबाट करिब आठ किमी दूरीमध्ये तीन किमीमा कालोपत्र गरिनुका साथै दुई लेनको सडक विस्तार हुन सके पर्यटकीयको ‘हब’ बन्ने प्रचुर सम्भावना देखिएको पूर्वजनप्रतिनिधिसमेत रहनुभएका दाहालले बताउनुभयो ।

यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदय पर्यटकको आकर्षणका दृश्य हुन् । हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ । घाम उदाउँन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ देखिन्छ । यससँगै हिमशृङ्खला पनि सुन्दर देखिने हुँदा पर्यटकको आकर्षणस्थल बन्ने गरेको दाहालले बताउनुभयो ।

यही हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्तरता हेर्न पर्यटक लालायित हुने गर्दछन् । मानुङकोटबाट धौलागिरि, माछापुच्छे«, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको लोभलाग्दो दृश्यले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ ।

यी मनोरम दृश्यावलोकनका लागि आउने पर्यटककै कारण अन्यत्र पुगेका स्थानीय गाउँ फर्किएर विभिन्न व्यापार, व्यावसाय सञ्चालन गर्न थालेका हुन् । पर्यटकीय क्षेत्रका रूपमा मनुङकोट विकास हुँदै जाँदा यहाँ स्थानीय होटल व्यवसायमा संलग्न हुन थालेका छन् ।

मानुङकोट पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएपछि पानीको अभावले रित्तिएको बस्ती अहिले पर्यटकीयस्थलका रूपमा विकास भएसँगै स्थानीय फर्किन थालेका छन् ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १४:४६