राजसंस्था स्थापना गर्ने भन्दै म्यासेज गर्ने निर्देश सेढाईं पक्राउ
२९ पुस, काठमाडौँ । राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई पक्राउ गरेको हो । सेढाईंले मुलुकको प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइलमा ग्रुप म्यासेज पठाएका थिए । चितवन घर भएका सेढाईंलाई मंगलबार राति काठमाडौँको हात्तीसारबाट प्रहरीले पक्राउ गरेको हो ।

गाडी व्यवसाय गर्दै आएका ३४ वर्षीय सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरेर ‘एटी अलर्ट’ मार्फत ५० लाख एसएमएस पठाएका थिए । सेढाईंले ५० लाख मानिसलाई म्यासेज गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।
सेढाईंले पुस ३० गते १२ बजे बालुवाटारमा उपस्थित हुन म्यासेजमार्फत आह्वान गरेका थिए । निषेधित क्षेत्रमा अनिश्चित कालको लागि उपस्थित हुन आग्रह गरेका उनलाई सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १४:११









