३० पुष २०८२, बुधबार | Wed Jan 14 2026

माघका लागि पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुन बैंकले कति दिने ?

३० पुस, काठमाडाैँ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम भइरहेकाले वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । पछिल्लो केही महिनायता निरन्तर रूपमा घट्दो क्रममा रहेको ब्याजदर माघमा पनि झरेको हो ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औषत अधिकतम ४.६८ प्रतिशत हाराहारी ब्याज दिने भएका छन् । यो दर पुस महिनाको तुलनामा करिब ०.१५ प्रतिशतविन्दुले कम हो । पुसमा बैंकहरूको औषत अधिकतम ब्याजदर ४.८३ प्रतिशत रहेको थियो ।

माघका लागि २० मध्ये ११ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

यीमध्ये हिमालयन बैंक र माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै, ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् । यद्यपि एक बैंकले भने ब्याजदर बढाएको छ । पुसमा सबैभन्दा कम ब्याजदर तोकेको प्राइम कमर्सियल बैंकले माघका लागि ०.१५ प्रतिशतविन्दु बढाएर ४.४ प्रतिशत पुर्‍याएको हो ।

यस अवधिमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि घटेको छ । बैंकहरूको संस्थागत मुद्दतिमा औषत अधिकतम ब्याजदर ०.०६ प्रतिशतविन्दुले घटेको देखिन्छ । माघ महिनाका लागि चार बैंकले संस्थागत मुद्दतिको ब्याजदर घटाउँदा बाँकी १६ बैंकले भने पुसकै दरलाई निरन्तरता दिएका छन् ।

माघका लागि व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आईएमई बैंकले ५.५ प्रतिशत दिने घोषणा गरेको छ । त्यसपछि नेपाल बैंकले ५.१ प्रतिशत ब्याज दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनएमबी बैंकले समान ५ प्रतिशत ब्याजदर तोकेका छन् ।

त्यस्तै सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु बैंक र नविल बैंकले ४.५५ प्रतिशत ब्याज दिने भएका छन् । लक्ष्मी सनराइज बैंकको ब्याजदर ४.५ प्रतिशत रहेको छ । माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले पनि ४.५ प्रतिशत ब्याज निर्धारण गरेका छन् ।

कुमारी बैंकले ४.४३ प्रतिशत, एभरेष्ट बैंक, कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले ४.४ प्रतिशत ब्याज दिने भएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ब्याजदर भने ४.३६ प्रतिशतमा सीमित रहेको छ ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १२:५१