नेपालमा उद्योग स्थापना गर्नु भनेको काँडाको बाटोमा हिँड्नु सरह छः गोपी कडेँल
२९ पुस, काठमाडौँ । हाम्रो अक्सिजन ग्यास उद्योगका संस्थापक अध्यक्ष गोपी कडेँलले नेपालमा उद्योग स्थापना गर्नु भनेको काँडाको बाटोमा हिँड्नु सरह रहेको बताउनुभएको छ ।
उद्योगको १४ औँ वार्षिक साधारणसभामा उपस्थित भएर आफ्नो भनाइ राख्दै संस्थापक अध्यक्ष कडेँलले उद्योग दर्तादेखि सञ्चालनको चरणसम्म पुग्दा एक उद्यमीले प्रशासनिक झन्झट, नीतिगत अस्पष्टता र सरकारी निकायहरू बीचको समन्वयको अभावमा ठूलो ऊर्जा खर्चिनुपर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कागजी प्रक्रियामा अल्झिएरै कयौँ सम्भावनाहरू अङ्कुराउन नपाई ओइलाउने गरेका छन् । हामीले अक्सिजन उत्पादन गरेर धेरैको जीवन बचायौँ, तर राज्यले उद्योगको ुजीवनु जोगाउन अझै धेरै काम गर्न बाँकी छ। जबसम्म नीतिगत लचकता आउँदैन र उद्योगमैत्री परिवेश बन्दैन, तबसम्म हामीले चाहेको सफल र समृद्ध नेपाल केवल कल्पनामा मात्र सीमित रहनेछ।’

सफल हस्तकला व्यवसायी कडेँलले भन्नुभयो, ‘एक संस्थापक अध्यक्षको रूपमा यो १४ वर्षको यात्रा केवल व्यवसाय सञ्चालन मात्र थिएन, यो त नेपालको चुनौतीपूर्ण औद्योगिक धरातलमा बाँच्नका लागि गरिएको एउटा निरन्तर सङ्घर्ष पनि थियो।’
यस उद्योगले कोरानाको समयमा हजाराैँ नागरिकको ज्यान जोगाउनका लागि नेपाल सरकारसँग समन्वय गरेको थियो । उद्योगको अध्यक्षमा पुनः अर्को कार्यकालका लागि दिनेश ढकाल चयन हुनुभएको छ ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १२:०६









