नबिल बैंकको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन
२८ पुस, काठमाडौँ । नबिल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा निर्वाण कुमार चौधरी चयन भएका छन्। बैंकको ४१ औं वार्षिक साधारणसभाले अध्यक्ष पदमा निर्वाण कुमार चौधरीलाई चयन गरेको हो ।
वर्तमान अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको कार्यकाल समाप्त भएसँगै आज बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गरेको छ ।
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो ।
साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले रु ५ अर्ब (प्रतिकित्ता अंकित मूल्य रु १०० का दरले ५ करोड कित्ता) बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ । उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ ।
नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
नबिल बैंकले साधारणसभा समयमै सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक वर्ग, बैंकका कर्मचारी र अन्य सम्बद्ध निकायहरूप्रति आभार व्यक्त गरेको छ ।
प्रकाशित मिति : २८ पुष २०८२, सोमबार २०:४६









