२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

विशेष महाधिवेशनको पक्षमा खुले कांग्रेसका २ हजार ६६२ प्रतिनिधि

२७ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन कुल २ हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कायम रहेका कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये पहिलो दिन करिब ५६ प्रतिशत प्रतिनिधिहरूले नाम दर्ता गराएका हुन् ।

विशेष महाधिवेशन सचिवालयका युवराज पाण्डेद्वारा आइतबार राति जारी प्रेस विज्ञप्ति अनुसार प्रदेशगत र संगठनगत रूपमा छुट्टाछुट्टै दर्ता स्टलहरूको व्यवस्था गरिएको थियो ।

मधेस प्रदेशबाट सबैभन्दा बढी ४४६ जना प्रतिनिधिले नाम दर्ता गराएका छन् । त्यसैगरी बागमती प्रदेशबाट ४३२ र कोशी प्रदेशबाट ४२५ जना प्रतिनिधिको सहभागिता रहेको छ ।

यस्तै, लुम्बिनी प्रदेशबाट ३९८ जना प्रतिनिधि सहभागी हुँदा गण्डकी प्रदेशबाट २९६ जनाले नाम दर्ता गराएका छन् । भौगोलिक रूपमा टाढा रहेका सुदूरपश्चिम प्रदेशबाट १५८ र कर्णाली प्रदेशबाट १३४ जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।

यसैगरी, काठमाडौँ उपत्यकाबाट १७८ जना र पार्टीका विभिन्न भातृ, शुभेच्छुक एवं विदेशस्थित जनसम्पर्क समितिहरूबाट १९५ जना प्रतिनिधिले आफ्नो उपस्थिति दर्ता गराएका छन् ।

बाँकी रहेका र आउने क्रममा रहेका प्रतिनिधिहरूका लागि सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रिया सुरु गरिने पाण्डेले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार २१:५९