२७ पुष २०८२, आईतवार | Mon Jan 12 2026

अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित

२७ पुस, ढोरपाटन (बागलुङ) । ढोरपाटन क्षेत्रमा अत्यधिक चिसो बढी पानी जम्न थाल्दा पनि विद्यालय सञ्चालनमा आउँदा विद्यार्थी मारमा परेका छन् ।

चिसो बढेपछि स्थानीय बासिन्दा बँेसी झर्न थालेसँगै केही विद्यालयले तलतिरै पठनपाठन सुरु गरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालयले साबिककै स्थानमा कक्षा सञ्चालन गर्दा विद्यार्थी मारमा परेका हुन् ।

ढोरपाटन नगरपालिका–९ चिसापानीमा रहेको ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी तथा शिक्षक अत्यधिक चिसोका कारण बिरामी भई पठनपाठन प्रभावित भएको छ ।

ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैका अनुसार बिहान बाक्लो तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटोले विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया हुने समस्या देखिँदा पठनपाठन प्रभावित बनेको छ । चिसोका कारण हिजोआज स्थानीय धारा र खोलाको पानी जमेको छ । गत वर्ष पुस पहिलो साता माघ अन्तिमसम्म विद्यालय बिदा हुने गरेकामा यस वर्ष पालिकाको क्यालेन्डरअनुसार चल्दा समस्या सिर्जना भएको हो ।

चिसोका कारण हातखुट्टा कठ्याङ्ग्रिँदा पढाइप्रति ध्यानै नजाने कक्षा १० मा अध्ययनरत छात्रा ओममाया विकले बताउनुभयो । एसइई पनि नजिदै गरेको भन्दै जाडोले गर्दा विद्यालय जान आउनसमेत गाह्रो हुने गरेको उहाँको भनाइ छ ।

जाडोका कारण पुस महिना लागेपछि दुई/तीनपटक बिरामी परेको विकले सुनाउनुभयो । गत वर्षदेखि कक्षा १० सञ्चालन भएको आफ्नो विद्यालयमा अहिले १६८ विद्यार्थी रहेको प्रधानाध्यापक अदैले जानकारी दिनुभयो ।

यसैबीच ढोरपाटन नगरपालिकाका सहायक शिक्षा अधिकृत ज्ञानेन्द्रप्रकाश सापकोटाले विद्यालयहरूसँग सहकार्य गरेर वैकल्पिक उपाय खोज्ने बताउनुभयो । शिक्षकहरुकै राय लिएर वार्षिक क्यालेन्डर बनाएको उहाँको स्पष्ट गर्नुभयो ।

ढोरपाटनमा सञ्चालित जनवादी आधारभूत विद्यालय र सहलथान प्राथमिक विद्यालयले घुम्ती पठनपाठन सुरु गरेका छन् । जनवादीले ढोरपाटन नगरपालिका–९ बिजौले र सहलथानले वडा नं ८ को नौघर टोलाबाट पढाइ सञ्चालन गरेका छन् ।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार १८:०७