२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

इक्यान निर्वाचनः एन्ड्रयु समूहको बद्ख्याई गर्दै अध्यक्ष पाण्डे र महासंघ अध्यक्ष बराल

२७ पुस, काठमाडाैँ । यति बेला नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्व चयनका लागि आसन्न निर्वाचनले परामर्श व्यवसाय क्षेत्र तातेको छ ।

सोमबार हुने निर्वाचनका लागि वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ र महासचिव दीपकराज भुसाल प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । इक्यान नै दुई समूहमा विभाजित भए जस्तो गरी रस्साकस्सी चलिरहँदा पूर्व पदाधिकारी तथा अन्य प्रभावशाली व्यक्तिहरू पनि आ-आफ्ना कित्तामा खुलेका छन् ।

तिनै दुई प्रभावशाली व्यक्तिहरूमा पर्छन् इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे तथा पूर्व अध्यक्ष राजेन्द्र बराल । धेरै व्यवसायीहरूले मानेका र कुरा सुन्ने यी दुई पात्र सँग नेतृत्व सर्वसम्मत गराउन सक्ने र बलियो इक्यान बनाउन सक्ने अवसर थियो । तर उनीहरूले आफूले समर्थन गरेका उम्मेदवार भुसाल अध्यक्ष भए मात्रै स्विकार्ने अडान लिएर चुनाव गराउन तिर बल गरे । चुनाव हुने नै निश्चित भइसकेपछि पनि दुई उम्मेदवारलाई स्वस्थ प्रतिस्पर्धा गर्न दिनुपर्नेमा उनीहरूले आफ्ना विपक्षी कित्ताका उम्मेदवारका एजेन्डाको अपव्याख्या गर्ने र भ्रम फैलाउनेमा बढी जोड दिए ।

प्रसङ्ग हो, शनिवार साँझको जति बेला अध्यक्षका प्रत्यासी दुवै उम्मेदवारले एकै दिन प्यानल परिचय गराउन कार्यक्रम राखेका थिए । पहिलो कार्यक्रम ‘एन्ड्रयु’ प्यानलको थियो । साँढे पाँच बजे तिर सुरु भएको उनको कार्यक्रममा उनले आफ्ना एजेन्डा राखे र स्वाभाविक रूपमा नै आफू र आफ्नो समूहको लागि मत मागे ।

कार्यक्रममा पुगेका इक्यान अध्यक्ष शेषराज भट्टराईले शुभकामना दिए लगत्तै समय सीमितताका कारण भन्दै प्रकाश पाण्डे त्यहाँ बाट निस्किए । करिब डेढ घण्टा पछि सुरु भएको दीपकराज भुसाल समूहको उस्तै कार्यक्रममा तिनै पाण्डेले आफ्नो अधिकांश समय ‘एन्ड्रयु’ को एजेन्डाको अपव्याख्या गर्नमै खर्चिए ।

पाण्डे मात्रै होइन इक्यानका पूर्व अध्यक्ष तथा महासंघका अध्यक्ष राजेन्द्र बरालले आ-आफ्नो पदीय हैसियत भुलेर आफ्नो सम्पूर्ण जोड आफ्नो समूहको बयान र एन्ड्रयु समूहको एजेन्डाको अपव्याख्यामै लगाए । मानौं सदस्यहरू भेंडा हुन् र उनीहरू केही बुझ्दैनन् । बुझ्छन् त केवल यी दुइटाको बयान ।

उनीहरूले सबैभन्दा बढी प्रहार गरेको ‘एन्ड्रयु’को ABCDE एजेन्डा माथि हो । अङ्ग्रेजी ५ वटा अक्षर मार्फत् आफूले इक्यानलाई बनाउन खोजेको संस्थाको सुन्दर व्याख्या ‘एन्ड्रयु’ले गरेका थिए । तर दीपकराज भुसालको २६ एजेन्डालाई समर्थन मात्रै गरे पुग्ने ठाउँमा एक कदम अगाडी बढेर पाण्डे र बरालले ए देखि इ मात्रै किन ? हामीलाई जेड सम्मको एजेन्डा चाहिन्छ भन्ने कुतर्क गर्दै बालहठ दोहोर्याइरहे ।

अर्को उम्मेदवारको आलोचना नगरीकनै आफ्नो प्रचार गर्नुपर्नेमा तटस्थ बस्नुपर्ने पदाधिकारीहरुले नै यस्तो प्रचार गरेको देखेर व्यवसायी चकित छन् । यसले निर्वाचनको मौलिकता र सदस्यहरूको विवेकमाथि नै प्रहार भएको ठान्छन् शैक्षिक परामर्श व्यावसायीहरू ।

हाम्रो सम्पर्कमा आएका एक व्यवसायीले यस्तो तर्क देखेर छक्क परेको सुनाए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, “यसरी अरूको एजेन्डाको कुप्रचार गर्दैमा भोट पाइन्छ भन्ने कस्तो मानसिकता होला ? चुनावमा आफ्ना एजेन्डा हुन्छन् र ABCDE मार्फत् पौडेलले धेरै कुरा भनिसकेका छन् ।

त्यसलाई मन पराउने र नपराउने सदस्यहरूको छनोट हो तर इक्यान सदस्यहरूले त्यति पनि बुझ्दैनन् भनेर सोच्नु अग्रज भन्ठान्नेहरूको मूर्खता होइन र ?” यो पटक यस्ता तर्कहरूले मतदाता प्रभावित नहुने भन्दै उनी अगाडि थप्छन्, “यो पटक इक्यानका मतदाताले आफ्नो बौद्धिक क्षमता देखाउने छन् र मैले जे भन्दा नि हुन्छ भन्ने धारणा तोड्नेछन् । यो पटक सीमित मान्छेको घेरा बाट इक्यान बाहिर आउनेछ।”

बर्षौंदेखि अध्यक्ष जसलाई बनाएर भए पनि पूर्व मुख्यमन्त्री पाण्डेको छोरा प्रकाश पाण्डे र कम्युनिष्ट पार्टीका नेता राजेन्द्र बरालकै वरपर इक्यान घुमिरहेको यसलाई नजिकबाट बुझ्नेहरूको भनाइ छ । यो पटक एन्ड्रयु समूह बलियो देखिएपछि चुनाव आफ्नो पक्षमा पार्न उनीहरूले सबै प्रयास गरिरहेको बुझाइ छ मतदाताहरूको ।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार १७:५५