जेनजी आन्दाेलनले चाैधरी परिवारकाे घरको खम्बा ढल्याे
-बुनु थारु
२७ पुस, काठमाडौँ । पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ २४ गते करिब ११ बजेतिर सुशीला चौधरीलाई भाइ विजयले कल गर्नुभयो । हालखबर सोध्दै जितिया मनाउन र काठमाडौँ घुम्न आउनु भनेर प्रस्ताव गर्नुभयो ।
सुशीलाले जेनजी आन्दोलन शान्त भएको केही दिनपछि जाने सोच गर्नुभएको थियो । फोनमै सुशीलाले विजयलाई आन्दोलनमा नजान र घरमै बस्न आग्रह गर्नुभएको थियो ।
तर दिदीभाइ कुरा भएको केही घण्टापछि अप्रिय खबर सुन्न थालियो । भाइ बुहारी(विजयकी श्रीमती) को आत्तिएको स्वरमा फोन आयो, “दिदी विजयलाई कल गर्दा अर्कै मान्छेले फोन उठाइरहेको छ । उसलाई गोली लागेर सिभिल अस्पताल लगेको छ रे । के गर्ने ?” विजयलाई छातीमा गोली लागेको थियो । विजय नयाँ बानेश्वरस्थित संसद् भवनको पछाडि रहेको बेला उहाँमाथि गोली प्रहार भएको थियो ।
हेटौँडामा बस्दै आउनुभएकी सुशीला सोही दिन जानसक्ने अवस्था थिएन । उहाँ भोलिपल्ट विजयका साथीसँग सिभिल अस्पतालमा भाइको खोजीका लागि जानुभयो । सबै वार्ड हेर्दा पनि विजय भेटिनुभएन । कसैले एकपटक त्रिवि शिक्षण अस्पताल जानु भनेर भन्यो । सुशीलाले भोलिपल्ट भाइको शव देख्नुभयो ।
सुशीला भावुक हुँदै भन्नुहुन्छ, “घरको सबै जिम्मेवारीको उसले लिएको थियो । जेठो भाइलाई पनि पढाएको थियो । घरको एक्लो खम्बा ढल्यो । ऋण लिएर भाइले घर बनाएको थियो । मेरो बिहेमा पनि उसले आर्थिक सहयोग गरेको थियो ।”
सिरहा लहान नगरपालिका–१५ का २६ वर्षीय विजय हरिप्रसाद र जलेश्वरीका कान्छा छोरा हुनुहुन्छ । काठमाडौँको जडीबुटी बस्ने विजय विगत १० वर्षदेखि इलेक्ट्रिसयनका रूपमा काम गर्दै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । सामान्य किसान परिवारमा जन्मिनुभएका विजयले घरपरिवार हेर्न भनेर नै ‘प्लस टु’ पछि पढाइ छोड्नु परेको थियो । आफूले नपढे पनि दाइलाई पढाउँछु भनेर घरको रेखदेखसँगै दाइ अजयलाई उहाँले इञ्जिनियरिङ पढाउन सहयोग गर्नुभएको थियो ।
विजय बितेपछि चौधरी परिवार शोकमा डुबेका छ । परिवारले अब गर्ने भनेर सोच्न सकेका छैन । इञ्जिनियिरिङको पढाइ सकेर बस्नुभएका विजयका दाइ अजय कामको खोजीमा हुनुहुन्छ ।

गाउँले र अन्य चिनेजानेकाले अजय र विजयलाई सँगै देख्दा यही भन्थे– अनुहार पनि उस्तै । आहा कस्तो मिलेका दाजुभाइ । ठ्याक्कै राम लक्ष्मणजस्तो । मीठो बोली व्यवहार ।
हुन पनि वियज परिवारप्रति व्यावहारिक र जिम्मेवार हुनुहुन्थ्यो । त्यसैले उहाँ सबैको प्यारो हुनुहुन्थ्यो । आमाबुवाको आँखामा उहाँ हिरा हुनुहुन्थ्यो । अहिले कसैले भाइको बारेमा सोध्दा बोल्न गाह्रो हुन्छ अजयलाई । मनमा गाँठो पर्छ । अजय भावविह्ल हुँदै भन्नुहुन्छ, “उसको कुरा गर्दा पनि आँसु आउन खोज्छ । म कहिल्यै नरुने मान्छे । उसको मृत्युले मलाई धेरै रुवाएको छ । ऊ हुँदा केही कुराको पनि तनाव हुँदैन थियो । ऊ नभएपछि घरको सहारा नै टुटेको छ ।”
अजय मानिसलाई पुर्नजीवन गराउने कुनै मेसिन भएको भए भाइलाई फेरि जीवित भएको देख्न पाए हुन्थ्यो भनेर कल्पिनुहुन्छ । “मेरो भाइ सीपयुक्त थियो । राम्रो कमाउँथ्यो । घरको सबै जिम्मेवारी लिएको थियो । मलाई पढाएको थियो । मैले जति अरु कसले गुमायो होला र ?” उहाँ बोल्दा बोल्दै रोक्किनुहुन्छ ।
विजयका आफन्त दाइ अमित चौधरी विजयलाई इमान्दार व्यक्तिका रूपमा सम्झिनुहुन्छ । अमित भन्नुहुन्छ, “देशको बलिदानका लागि लडेको थियो । सरकारले प्रतिबद्धता गरेको सबै चिज प्राप्त गरोस् उसको परिवारले ।”
विजयका बुवा दमको रोगी हुनुहुन्छ । आमाको स्वास्थ्य अवस्था पनि त्यति सन्तोषजनक छैन । घरको एक्लो सहारा रहनुभएका विजय नभएपछि उहाँको तीन वर्षको छोरीको भविष्य अन्योल छ । विजयकी दिदी सुशीला सरकारले बुहारीलाई रोजगारी दिनुपर्ने र छोरीको उच्च शिक्षासँगै स्वास्थ्य बिमाको पनि सुनिश्चितता गर्दिनुपर्ने बताउनुहुन्छ ।
जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका विजय अब सम्झनामा मात्र हुनुहुन्छ । “सबै कुरा उसैले त हेरेको थियो । ऊ फर्केर आउँदैन थाहा छ । कम्तीमा उसको मृत्यु भएको ठाउँमा सरकारले सालिक बनाइदियोस्”, दिदी सुशीला भन्नुहुन्छ ।
प्रकाशित मिति : २७ पुष २०८२, आईतवार १५:३३








