२५ पुष २०८२, शुक्रबार | Fri Jan 9 2026

सहकारीले सञ्चालन गर्ने सहिद मेमोरियल अस्पतालमा व्यापक भ्रष्टाचार

२५ पुस, काठमाडौँ । कलंकीको सहिद मेमोरियल अस्पतालमा व्यापक भ्रष्टाचार भएको पाइएको छ । अस्पताल व्यवस्थापन समितिले गठन गरेको छानविन समिति र अध्ययन समिति दुबैले करोड भन्दा बढी रकम भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले  १९ वर्षदेखि अस्पताल सञ्चालन गर्दै आएको छ । सहकारीको अध्यक्ष नेकपा एमालेको नेता सोमनाथ अधिकारी ‘प्यासी’ हुनुहुन्छ भने अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पनि एमालेकै नेता प्रा। डा। गणेश मान गुरुङ हुनुहुन्छ ।

२०६२/२०६३ मा भएको दोस्रो जनआन्दोलन पस्चात शहिदहरूको सम्झनामा स्थापित सहकारीले अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहकारीमा बढी जसो एमालेका नेताहरू संलग्न रहनुभएको छ ।

अस्पालमा प्रमुख कार्यकारी अधिकृत डा दीपक श्रेष्ठले भ्रष्टाचार गरेको सुइँको पाएपछि अस्पताल व्यवस्थापन समितिले एक तह घटुवा गरेर मेडिकल सुपरिटेन्डेन्टमा सीमित गरेको थियो । अस्पताल व्यवस्थापन समितिले गठन गरेका छानविन समितिलाई डा श्रेष्ठले सहयोग गरेको पनि पाइएको छ ।

अस्पताल व्यवस्थापन समितिले भ्रष्टाचार भएको सुइँको पाएपछि लेखनाथ अर्यालको संयोजकत्वमा गठन गरेको समितिमा दीपेन्द्र पराजुली सदस्य रहनुभएको थियो । दुई सदस्यीय समितिको प्रतिवेदनले ५६ लाख ६८ हजार ३०७ रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको पाइएको छ । समितिले भ्रष्टाचारमा डा श्रेष्ठ र  प्रशासक उमेश महर्जन संलग्न रहेको जनाएको छ ।

पछि अस्पताल व्यवस्थापन समितिले बनाएको अर्को अध्ययन कार्यदलले हेर्दा १ करोड ११ लाख भन्दा बढी भ्रष्टाचार भएको पाइएको अध्यक्ष प्रा डा गणेशमान गुरूङले बताउनुभयो । स्रोतका अनुसार अस्पतालमा भएको भ्रष्टाचारको विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत पुगेको छ । आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेर अस्पतालको भ्रष्टाचारमा थप कारबाही प्रकिया अघि बढाएको छ ।

स्रोतका अनुसार दीपक र उमेशले कर्मचारीसँग तलबबाट २ प्रतिशत रकम काटेर उठाइ दुरूपयोग गरेको पनि पाइएको छ । उनीहरूले कर्मचारीको तलब काटेर उठाएको पैसा दुई जनाले आफूखुशी खर्च गरेका हुन । यता छानविन समितले पनि भ्रष्टाचारमा संलग्न माथि कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘उपरोक्त कार्यहरूले यस संस्थाको साख र विश्वसनीयतामा गम्भीर असर परेको र विषय थप उजागर हुँदै जाँदा आर्थिक अनियमितताको सन्देशले संस्थाको मात्र संस्था सहकारीको सञ्चालक समिति, सोका पदाधिकारी सदस्य एवं अस्पताल व्यवस्थापन समिति र सोका पदाधिकारी सदस्यहरूको समेत नैतिक बलमा असर पर्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन । यसको असर र क्षतिलाई परिपूरण गरी संस्थाको नेतृत्वले क्षमता प्रदर्शन गरी संस्थालाई थप क्षति हुनबाट बचाउने गहन जिम्मेवारी दृढतापूर्वक लिई संस्थालाई गलत कार्य गरी आर्थिक हानि नोक्सानी पुर्‍याउनेहरू प्रति गम्भीर र कडा रूपमा प्रस्तुत हुनुपर्छ भन्ने विषयलाई थप खुलाउँदै रहन आवश्यक देखिन्छ ।’

श्रेष्ठ र महर्जनले आफ्नो नाममा बैंक खाता खोली संस्थाको रकम प्रयोग गरी गरेका अनियमित कामहरू संस्थाको नीति, नियम, प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका र प्रचलन एवं अन्य आकर्षित हुने ऐन, नियमको बर्खिलाप रहेको भन्दै कारबाहीका लागि संस्थाभित्रैबाट पनि आवाज उठ्न थालेको छ ।

छानविन समितिको प्रतिवेदनको एउटा अंश ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार २२:१४