मतदान गर्दा विवेक प्रयोग गर्नुस्, अब फेरी हाम्रा सन्तानको रगत नबगोस् : मन्त्री श्रेष्ठ
२५ पुस, काठमाडाैँ । महिला, बालकालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैलाई सक्रिय सहभागी हुन आग्रह गर्नुभएको छ ।
उहाँले मताधिकारको प्रयोग गर्दा भोलिको आफ्ना सन्तानहरुको भविष्यलाई मनमा राखेर मत हाल्न सुझाव दिँदै हाम्रा सन्तानले फेरि रगत बगाउन नपर्ने गरी विवेक प्रयोग गर्न आग्रह गर्नुभयो । नेपाल अर्बुद रोग निवारण संस्थाको ३५औं केन्द्रीयसभाको अवसरमा ललितपुरको बालकुमारीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आन्दोलनपछिको विशेष परिस्थितिमा बनेको सरकारको एकमात्र प्राथमिकता निर्वाचन रहेको बताउनुभयो ।
यो सरकार नैतिक आधारमा सुशासन कायम गराउन दृढ रहेको भन्दै उहाँले छ महिनामा धेरै गर्न नसकिए पनि गर्नैपर्ने कामहरु सरकारले निशंकोच, इमान्दारिताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा क्यान्सर रोगीहरुको उपचारको अवस्थालाई सुधार गर्न सरकारले अनुदान रकममा अझै बद्धि गर्नुपर्ने बताउनुभयो । संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले नेपालमा क्यान्सर रोग द्रुत गतिले बढिरहेकाले यसमा सरकारले निश्चित समूह लक्षित कार्यक्रमहरु अघि बढाउन ढिला गर्न नहुने बताउनुभयो ।
निवर्तमान अध्यक्ष लोकेन्द्र श्रेष्ठले महिला तथा बालबालिकाको क्यान्सर उपचारलाई सतप्रतिशत निशुल्क गर्नुपर्ने बनाउनुभयो । केन्द्रीसभामा महासचिव दिपेन्द्र बान्तवाले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिनेशशंकर पालिखेले आर्थिक प्रतिवेदन प्रशस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा समाजसेवी कर्ण शाक्य, सल्लाहकार जीत बहादुर श्रेष्ठ, नेपाल विकास अनुसन्धान पतिष्ठानका अध्यक्ष जय कुमार गुरुङ, भक्तपुर क्यान्सर अस्पतालका कार्याकारी निर्देशक डा. उज्वल चालिसे, नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका संस्थापक अध्यक्ष सुदिप श्रेष्ठ लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रमका अवसरमा संस्थाले विभिन्न शीर्षकमा २७ जना दाताहरुलाई सम्मान गरेको थियो । देशभरबाट आएका २२ वटा जिल्ला शाखाहरुले आआफ्नो प्रतिवेदन प्रशस्तुत गरेको थिए । केन्द्रीयसभामा देशभरबाट आएका करिब १ सय ५० भन्दा बढी प्रतिनिधिहरु सहभागी थिए ।
प्रकाशित मिति : 19:54









