बब्लु गुप्ता सहभागी हुने भनिएको अमेरिकाको कार्यक्रम नै नक्कली
२५ पुस, काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले स्पष्ट पारेको छ। योसँगै गुप्ता जान खोजेको अमेरिकाको कार्यक्रम नै नक्कली रहेको पुष्टि भएको छ ।
मन्त्री गुप्ताले मन्त्रिपरिषद्बाट नै अमेरिकामा कार्यक्रम रहेको भन्दै भ्रमण स्वीकृत गराइसक्नुभएको छ । मन्त्रिपरिषद्को निर्णय समेत बाहिर सार्वजनिक भैसकेको छ । तर एनआरएनए अमेरिकाले भने कुनै पनि कार्यक्रम नै नरहेको बताएको छ ।

मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको खबर सार्वजनिक भएपछि परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति मार्फत अमेरिकामा युवासम्बन्धी कुनै कार्यक्रम आयोजना नगरिएको र मन्त्रीलाई नबोलाइएको प्रष्ट पार्नुभएको छ ।

उप्रेतीले एनआरएनए अमेरिकाको आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण वा फन्डराइजिङ अवैध हुने उल्लेख गर्नुभएको छ । साथै परिषद्को नाम र पहिचान दुरुपयोग गर्ने व्यक्ति वा समूहविरुद्ध कानुनी कारबाही अघि बढाइने पनि बताउनुभएको छ । गुप्ताले रातो पासपोर्ट प्रयोग गरेर मानवतस्करी गर्न खोजेको भन्दै शंकाहरु पनि उब्जिएका छन । यद्यपी यसमा प्रहरीले अनुसन्धान गर्छ होला नै ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार ०९:५७








