२५ पुष २०८२, शुक्रबार | Fri Jan 9 2026

एनआईसी एशिया बैंकले भन्योः कर्मचारीमाथि हुने अभद्र व्यवहार सैह्य हुने छैन

२४ पुस, काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले यस्तो गैरकानूनी र उच्छृङ्खल गतिविधि संवेदनशील बैंकिङ्ग स्थलमा स्वीकार्य नभएको स्पष्ट पारेको छ।

बैंकले जारी गरेको विज्ञप्तिमा शाखा कार्यालयभित्र हुलहुज्जत, होहल्ला, आगजनी वा जिउज्यानमा हानि पुर्याउने उद्देश्यले पेट्रोलजस्ता अति प्रज्वलनशील पदार्थ प्रयोग गर्न खोज्नुले कर्मचारीहरुसँगसँगै समग्र बैंकिङ्ग क्षेत्रमा असुरक्षित वातावरण सिर्जना गरेको उल्लेख छ। यस्ता घटनाले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक विकासमा गर्दै आएको योगदानलाई समेत नकारात्मक असर पार्ने र कार्यस्थलमा असुरक्षाको वातावरण सिर्जना हुने बैंकले जनाएको छ। घटनापछि कर्मचारीहरूले गम्भीर असुरक्षा महसुस गरिरहेको अवस्थालाई समेत बैंकले चिन्ताको विषय बनाएको छ। कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सैह्य नहुने बैंकले स्पष्ट पारेको छ ।

उक्त घटनामा संलग्न व्यक्तिहरूको सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी प्रचलित कानूनबमोजिम कडा कारबाही गर्न माग गरेको छ। साथै, बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरूको शान्तिसुरक्षा सुनिश्चित गर्न सम्बन्धित सबै निकायसँग बैंकले आग्रह गरेको छ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १३:०७