१० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
२४ पुस, काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज पनि १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ च’ जारी गर्न लागेको हो । यो ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २४ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
यो ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। काउण्टरपार्टीले कबोल गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको चार अंकसम्म उल्लेख गर्नुपर्नेछ। ऋणपत्रको व्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ। यसको बोलकबोल आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुनेछ ।
बोलकबोलमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म कबोल गर्न सकिनेछ। यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १०:५२








