बैंकमा निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो
२३ पुस, काठमाडाैं । पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा पनि वृद्धि भएको छ।
२०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप, २०८२ कात्तिक मसान्तमा ३ दशमलव १ प्रतिशतले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो निक्षेप २ दशमलव ३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।
२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २०८२ असार मसान्तको तुलनामा १ दशमलव २ प्रतिशतले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो कर्जा २०८१ असार मसान्तको तुलनामा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६ दशमलव ९ प्रतिशतले बढेको छ ।
कात्तिक मसान्त सम्मको अवधिमा भएको कर्जा प्रवाहमध्ये उपभोगमा आधारित ऋणको हिस्सा सबैभन्दा बढी २० दशमलव ८ प्रतिशत रहेको छ भने सबैभन्दा कम ऋण प्रवाह स्थानीय तहमा भएको छ ।
वाणिज्य बैंकको निक्षेप र कर्जाको भारित औसत ब्याजदरमा पनि गिरावट आएको छ। २०८१ कात्तिकमा क्रमशः ५ दशमलव १ प्रतिशत र ९ दशमलव ७ प्रतिशत रहेको भारित औसत ब्याजदर २०८२ कात्तिकमा क्रमशः ३ दशमलव ७४ प्रतिशत र ७ दशमलव ३८ प्रतिशतमा झरेको छ।
२०८२ कात्तिक मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल १०७ बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । सबै स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०८१ कात्तिक मसान्तमा ११ हजार ५ सय ४२ रहेकोमा २०८२ को सोहि अवधिमा ११ हजार ५ सय १६ रहेको छ । यस अवधिमा एटिएम बुथको संख्या भने ४४ ले थप भई ५ हजार २६८ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा बढेको छ भने विपन्न क्षेत्र कर्जा घटेको छ । २०८१ कात्तिकमा कुल कर्जाको ४ दशमलव ४२ प्रतिशत रहेको निष्कृय कर्जा २०८२ कात्तिकमा ५ दशमलव २६ प्रतिशत पुगेको छ । त्यसैगरी, २०८१ कात्तिकमा विपन्न क्षेत्र कर्जा कुल कर्जा लगानीको ६.१७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा ५.३६ प्रतिशत रहेको छ ।
प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १४:३२








