९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

अब नेपालीले विदेशमा २० हजार डलरसम्म लगानी गर्न पाउने

२३ पुस, काठमाडाैं। अब नेपाली व्यक्ति, फर्म तथा कम्पनीहरूले विदेशमा अमेरिकी डलर २० हजारसम्म लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा पाँचौँ संशोधन गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

केन्द्रीय बैंकले संशोधित विनियमावली लागू हुने गरी सूचना जारी गरेसँगै नेपालीहरूका लागि विदेशमा लगानी गर्ने प्रक्रिया सहज बनेको छ। विनियमावलीमा नयाँ थपिएको बुँदा ९४(क) अनुसार अमेरिकी डलर २० हजारसम्मको लगानीका लागि यसअघिका कडा व्यवस्थाहरू बाधक नहुने व्यवस्था गरिएको छ।

यस नयाँ व्यवस्थाले विदेशी लगानी भित्र्याउन र फिर्ता लैजान राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने बनाएको छ। यसले लगानी प्रक्रियालाई सरल, छरितो र पारदर्शी बनाउने र नेपालको लगानी वातावरणलाई प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

संशोधनमार्फत विदेशी लगानी भित्र्याउने प्रक्रिया पनि सरल बनाइएको छ। अब विदेशी लगानी अघि गरिने सम्भाव्यता अध्ययन तथा पूर्व सञ्चालन खर्च (चुक्ता पुँजीको ३ प्रतिशतसम्म) का लागि नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छैन। साथै, सूचना प्रविधि (IT) सम्बन्धी उद्योगहरूले आफ्नो निर्यात आम्दानीको आधारमा १० लाख डलरसम्म विदेशमा लगानी गर्न सटही सुविधा पाउने विशेष व्यवस्था समेत गरिएको छ।

प्रकाशित मिति : January 7, 2026 at 2:15 pm