यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
२२ पुस, काठमाडौं । सरकारले नेपाल प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यही पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची संशोधन भएको बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलका अनुसार बैठकले महालेखापरीक्षकको कार्यालय र त्यसअन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । सरकारले ऐक्यबद्धताका रूपमा ‘आप्रवासनका लागि अन्तरराष्ट्रिय सङ्गठन(आइओएम) उत्थानशील कोष’ मा एकपटकका लागि १० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारीको पारिश्रमिक र सेवा सुविधामा एकरूपता कायम गर्न सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा हरि पौडेललाई थाइल्याण्डमा आगामी माघ ८ देखि १३ गतेसम्म आयोजना हुने सुशासन र भ्रष्ट्राचार विरुद्धसम्बन्धी तालिममा सहभागी हुन स्वीकृति दिइएको छ । संयुक्त राष्ट्रसङ्घ अन्तरिम सुरक्षा बल (युएनआइएसएफए) मिशन, अवेइमा कार्यरत नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई फोर्स कमाण्डर पदमा नियुक्त गर्न स्वीकृति दिइएको छ ।
बङ्गलादेशको ढाकामा आयोजना हुने नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरको आठौँ बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिइएको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयः

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १७:५६








