१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

मुक्तिनाथ विकास बैंक २० वर्षमा प्रवेश

२१ पुस, काठमाडाैं। मुक्तिनाथ विकास बैंक लिमिटेडले २० वर्षको यात्रामा प्रवेश गरेको अवसरमा देशभर विविध सामाजिक, शैक्षिक र सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरेको छ।

बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौसहित जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, इटहरी, बुटवल र लम्कीमा आयोजित बृहत रक्तदान कार्यक्रममा ७५५ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरिएको छ।

सो अवसरमा ‘सन २०५० मा मेरो नेपाल’ शीर्षकमा कक्षा ८ देखि १० का विद्यार्थीहरूबीच राष्ट्रिय चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो। यस प्रतियोगितामा देशभरका ७९१ विद्यार्थीहरू सहभागी भएका थिए। सर्वोत्कृष्ट चित्रको सिर्जनाकार काठमाण्डौकी रिया खड्काले प्रथम स्थान हासिल गरी रु. ५० हजार नगद र प्रमाणपत्र प्राप्त गरिन्। प्रत्येक क्षेत्रीय कार्यालय अन्तर्गत उत्कृष्ट चित्रकारलाई रु. १० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

बैंकले यस अवसरमा सातै प्रदेशका कक्षा ११ र १२ का विद्यार्थीहरूलाई छात्रवृत्ति, विभिन्न विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र स्टेशनरी सामग्री, बागमती सफाई अभियानमा सफाई सामग्री हस्तान्तरण, सेवा आश्रमलाई सिरक र डस्टबिन वितरण, हुम्लाका विपन्न वर्गका लागि सिलाई मेसिन वितरण, र बालबालिकाहरूलाई कृतिम हात हस्तान्तरण जस्ता विविध सामाजिक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ।

केन्द्रीय कार्यालय, लाजिम्पाटमा आयोजित कार्यक्रमको उद्घाटन सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरे भने नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) समिर शेखर बर्जाचार्यले स्वागत मन्तव्य दिए। बैंकको अवस्था, प्रगति र विभिन्न गतिविधिहरूको विवरण प्रधान कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले प्रस्तुत गरे ।

कार्यक्रममा संस्थागत गीतको विमोचन गरिएको थियो र संस्थामा १० वर्ष सेवा पुरा गरेका ४७ जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा बैंकका सञ्चालक, सेयरधनी, सेवाग्राही र कर्मचारीहरूको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन व्यवस्थापक तेज बहादुर गिरीले गरेका थिए ।

प्रकाशित मिति : January 5, 2026 at 4:17 pm