युके पठाइदिन्छु भन्दै ठगी गर्ने धादिङका तामाङसहित तीन जना पक्राउ
२१ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका-१ बस्ने प्युठान, प्युठान नगरपालिका-९ घर भएका ३९ वर्षीय इन्द्र बहादुर केसी,काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका ४० वर्षीय आईते तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३४ वर्षीय बिजय गुरूङ रहेका छन् ।
पक्राउ मध्ये इन्द्र र आईतेले युके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट १३ लाख रूपैयाँ र बिजयले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इन्द्र र आईतेलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट बिहीबार तथा बिजयलाई काठमाडौं महानगरपालिका-१४ बाट आइतबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये इन्द्र र आईतेलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा बिजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १३:०२








