२१ पुष २०८२, सोमबार | Mon Jan 5 2026

ओखलढुंगामा तीन जनाको श्रृंखलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ

२० पुस, काठमाडाैं । ओखलढुंगामा श्रृंखलाबद्ध रूपमा तीन जनाको हत्या तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगा चिसाङ्ग गाउँपालिका-३ का २८ वर्षीय मिलन भन्ने संगम राई, रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार र शनिबार फरक-फरक ठाउँबाट हत्या र लुटपाट गर्दै हिँड्ने गिरोहका  चार जनालाई पक्राउ गरेको हो। संगमलाई शुक्रबार र बाँकीलाई शनिबार पक्राउ गरिएको अनुसन्धान ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

उनीहरूको समूहले २०८२ पुस १५ गते ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ का ६० वर्षीय शोभितमान थापा र श्रीमती ६० वर्षीय रत्नमाया थापा मगरलाई धारिलो हतियार प्रहार गरेर वीभत्स हत्या गरेकाे उहाँले बताउनुभयाे ।

 हत्या पश्चात शवलाई गोठमा लगेर स्याउलाले छोपी पसल तथा कोठामा रहेको नगद १ लाख, २ तोला सुनका गरगहना र काँचो सुन ६ तोला लुटेर लगेको पाइएको प्रहरीले बताएको छ । यही समूहले यसअघि २६ असोजको राति १० बजेतिर ओखलढुंगाकै सिद्धीचरण नगरपालिका–४ चाुर्खमा खेती किसान गर्ने एकल महिला ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की)को पनि हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

उनीहरूले हत्या गर्नका लागि प्रयोग गरेको बञ्चरो, खुकुरी, गहना गालेर बनाइएको रिंग, बन्दुक, कोदालो, मोवाइललगायतका सामान प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १७:५९