१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

सक्रिय राजनीतिमा प्रवेश गरेको छु, परिवर्तनलाई संस्थागत गर्न चाहन्छुः केदार खड्का

१८ पुस, काठमाडाैँ । भ्रष्टाचारविरूद्धका अभिन्ता केदार खड्काले दशकौंको सञ्चार अभियान र सामाजिक विकासका गतिविधिपछि अन्ततः म नेपालको सक्रिय राजनीतिमा प्रवेश गरेको जानकारी गराउँदै सहयोग अपिल गर्नुभएको छ ।

फेसबुक मार्फत खड्काले राजनीतिमा प्रवेश गरेर विगतका अभियानबाट प्राप्त अनुभवलाई नीतिनिर्माण तथा कार्यान्वयनमा सुधार ल्याई परिवर्तनलाई संस्थागत गर्ने चाहना रहेको बताउनुभएको छ । उज्यालो नेपाल पार्टी मार्फत राजनीतिमा प्रवेश गर्नुभएको उहाँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा हुनुहुन्छ ।

फागुन २१ गते हुने निर्वाचनमा चुनावमा प्रतिस्पर्धा गर्ने संकेत गर्दै खड्काले यस्तो अपिल गर्नुभएको छ,

दशकौंको सञ्चार अभियान र सामाजिक विकासका गतिविधिपछि अन्ततः म नेपालको सक्रिय राजनीतिमा प्रवेश गरेको छु ।
टेलिभिजन पत्रकार तथा कार्यक्रम निर्देशक/प्रस्तोताको रूपमा मैले नेपाल टेलिभिजनमा २०५१ देखि २०६३ ‘एक–आपस’, ‘पक्ष–प्रतिपक्ष’ र ‘नागरिक सुनुवाइ’ जस्ता शक्तिशाली कार्यक्रमहरू सञ्चालन गरेर जनताको आवाजलाई सत्ताको शीर्षसम्म पुर्याएँ । यी कार्यक्रमहरूले सुशासन, सार्वजनिक सेवा प्रवाह र भ्रष्टाचारविरोधी अभियानलाई जोडदार रूपमा उठाए, जसमा हज्जारौं युवाहरू जोडिएर तत्कालीन भ्रष्टाचारविरुद्ध नीतिनिर्माण तथा लोकतन्त्र पुनस्थापनामा महत्वपूर्ण योगदान पुर्याए ।

मेरो योगदानलाई कदर गर्दै नेपाल प्रेस इन्स्टिट्युटबाट राष्ट्रिय खोज पत्रकारिता पुरस्कार, राष्ट्रिय सूचना आयोगबाट सूचनाको हक प्रवद्र्धक पुरस्कार, बेलायतको युनिभर्सिटी अफ वेल्स, कार्डिफमा अध्ययनका लागि प्रतिष्ठित चेभेनिङ स्कलरसिप, अन्तर्राष्ट्रिय नेतृत्व स्कलरसिप, अमेरिका तथा नेदरल्यान्ड्स सरकारको फेलोसिप, र अस्ट्रेलियन नेशनल युनिभर्सिटीमा भ्रष्टाचार तथा भ्रष्टाचारविरुद्ध अध्ययनको अवसर प्राप्त गरेको छु ।

साथै, मैले असल सुशासन स्रोत संगालो, २१ सामाजिक जवाफदेहिता स्रोत पुस्तक लगायतका पुस्तकहरू लेखेर समाजलाई योगदान दिएको छु । बौद्धिक लेखनबाहेक, मैले हजारौं युवा, असल शासन अभियन्ता, मानवअधिकारकर्मी, सरकारी अधिकारी र सञ्चारकर्मीहरूलाई प्रशिक्षण दिएर सार्वजनिक पदाधिकारीहरूलाई जवाफदेही बनाउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छु ।

त्यसैले, अब राजनीतिमा प्रवेश गरेर विगतका अभियानबाट प्राप्त अनुभवलाई नीतिनिर्माण तथा कार्यान्वयनमा सुधार ल्याई परिवर्तनलाई संस्थागत गर्न चाहन्छु, तपाईंको हौसलाको प्रतिक्षामा छु !

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार १२:५३