पुनः प्रभु बैंककाे सिईओमा फर्किने अशोक शेरचनको प्रयास असफल
१८ पुस, काठमाडौँ । बैंकिङ कसुरसहित विभिन्न चार प्रकारका मुद्दामा अनुसन्धानका लागि पक्राउ परेर हाल धरौटीमा छुटेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको पुनः सोही पदमा फर्किएर हिसाब मिलान गर्ने प्रयास असफल भएको छ ।
धरौटीमा छुटे लगत्तै बैंकमा रहेको प्रमुख कार्यकारी अधिकृतको कुर्सीमै गएर केही घण्टा बसी बैंकका केही कर्मचारी र केही पत्रकारसँग भेटवार्ता गर्नुभएको शेरचनले सञ्चालक समितिको बैठकबाट निलम्बन फुकुवाको प्रायस गर्नुभएको थियो तर त्यो प्रयास भने असफल भएको बैंक स्रोतले जनाएको छ ।
प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की हुनुहुन्छ भने प्रमोटरको तर्फबाट अंगिरमान सिंह, विर्खबहादुर बस्नेत, अम्बिका शर्मा लामिछाने डाइरेक्टर हुनुहुन्छ भने पब्लिक डाइरेक्टरमा राजु पौडेल र स्वतन्त्र डाइरेक्टरमा रमेशराज अर्याल हुनुहुन्छ । उहाँहरू मध्ये अध्यक्ष कार्की निलम्ब फुकुवाको पक्षमा हुनुभए पनि बहुमत डाइरेक्टरको असहमितका कारण शेरचनको प्रयास असफल भएको छ । कार्की भने शेरचनकै पहलमा बैंकको अध्यक्ष हुनुभएको व्यक्ति हुनुहुन्छ ।
स्रोतका अनुसार चार सञ्चालकले नेपाल राष्ट्र बैंकसँग परामर्श गरेर मात्र निलम्बन फुकुवा गर्न सकिने शर्त राखेका थिए । उक्त शर्त अनुसार राष्ट्र बैंकसँग परामर्श गर्दा विभिन्न मुद्दामा अनुसन्धान भैरहेको अवस्थामा पुनः प्रमुख कार्यकारी अधिकृतमा फर्काउन नमिल्ने जानकारी आएको थियो । राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले पनि यस्तो विषयमा खेलाँची नगर्न सुझाव दिएको स्रोतले जनाएको छ । त्यसपछि सञ्चालक समितिले शेरचनको जोडबल रहे पनि उनको निलम्बन फुकुवाको निर्णय गर्न सकेन ।

शेरचन भने सञ्चाल समितिको बाटोबाट निम्बन फुकुवा नभएकाले अब सञ्चालक समितिकै विरूद्धमा मुद्दा हालेर पुनः प्रमुख कार्यकारी अधिकृतको तयारीमा लागेको स्रोतले बताउँछ । अदालतको बाटो प्रयोग गरेर प्रमुख कार्यकारी अधिकृतको कुर्सीमा पुनः फर्किन शेरचनलाई सुझाव दिने मध्ये केहीले भने अध्यक्ष कार्की र प्रधान्यायाधीश प्रकाशमान सिंह राउतको नाता केलाएर थप सहज हुने व्याख्या समेत गरिरहेका छन । उनीहरूले उच्च अदालत मार्फत यसको निकास खोज्न सकिने दलिल पेश गरिरहेका छन । यसअघि तेस्रो कार्यकालको बैंकको प्रमुख कार्यकारी अधिकृत हुने समयमा पनि शेरचनाले अदालत प्रभावित बनाएर आफ्नो पक्षमा आदेश लिएको भनेर चर्चा हुने गरेको छ ।
शेरचन पक्राउ परेपछि प्रभु बैंकबाट मोटो रकम चन्दा असुलेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूमा छटपटि देखिएको थियो । जनताको पैसा चलेको प्रभु बैंकबाट ती दलले करोडौँ रूपैयाँ चन्दा लगेको बैंक स्रोतले बताउँछ । त्यस विषय पनि अनुसन्धान मार्फत बाहिर आउँदा समस्या हुने भन्दै उनीहरूले शक्तिकेन्द्र धाउने र मिलाउने प्रयास गरेको बुझिएको छ । कतिपयले महान्यायाधीवक्ता मार्फत मुद्दा नचलाउन दाबाबा दिने तयारी समेत गरेका छन ।
अघिल्लो कार्यकालको गण्डकी प्रदेशसभामा सांसद खरिद बिक्रीको प्रकरणमा समेत शेरचन जोडिनुभएको थियो । उहाँले एमालेका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमा जनमोर्चाका केही सांसद खरिदका लागि होटलमा बसेर डिल गरेको विषय सार्वजनिक भएको थियो ।
यता शेरचन र प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनको कुर्तुत ढाकछोप गरेर कुनै मापदण्ड र आधार बिनानै लाखौँ रकम विज्ञापनको नाममा लैजाने मिडिया मालिकाहरू समेत तनावमा परेका छन । उनीहरूले लाखौँ रकमको बिल पेश गर्दै सिधै प्रमुख कार्यकारी अधिकृत शेरचन मार्फत भुक्तानी गराउने गरेका थिए । शेरचन पुनः बैंकमा नफर्किदाँ विगतको शैलीमा अशुली गर्न नमिल्ने भएपछि उनीहरू पनि तनावमा देखिएका छन ।
कतिपय मिडिया सञ्चालक त शेरचनलाई अदालतको बाटोबाट भए पनि पुनः बैंकमा फर्काएर आफ्ना लेनदेन मिलाउन लागि परेका छन । केही मिडियाले भने प्रभु बैंकबाटै विना धितो करोडौँ रूपैयाँ ऋणको रूपमा लगेको पाइएको बैंककै कतिपय कर्मचारी बताउँछन । त्यसरी ऋण उठाउनेमा एक नम्बर दाबी गर्ने मिडियाहरू रहेको बुझिएको छ । यसअघि बैंकका अधिकारीको भ्रष्टाचारमा ढाकछोपका नाममा नागरिकको लगानीबाट विज्ञापनको नाममा घुस उठाएको विषयमा दैनिकीमा ‘जनताको पैसा प्रभु बैंकमार्फत मिडियामा, चार वर्षमा झण्डै डेढ अर्ब स्वाहा’ शीर्षकमा समाचार प्रकाशित भएके थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले शेरचन माथि अहिले पनि चार मुद्दामा अनुसन्धान जारी राखेको छ । धरौटीमा छुटेका बैंकिङ कुसुरसँग जोडिएका देवीप्रकाश भट्टचन भने यतिखेर मलेसियामा लुकेर बसेको बताइएको छ । ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दामा प्रहरीको अनुसन्धान जारी छ ।
प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार १२:२१












