वासुदेवसँगको घण्टौँको वार्तापछि विष्णु पौडेलको सन्देशः हामी सँगै छौँ
१७ पुस, रूपन्देही । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले पारित्यागको घोषणा गरेर आफूविरूद्ध चुनाव लड्ने तयारी गरेका वासुदेव घिमिरेसँग सहमति गर्नुभएको छ । बिहीबार दिउँसो घण्टौँ वार्ता गरेर घिमिरेसँग सहमति भएपछि पौडेलले सामाजिक सञ्जाल मार्फत रूपन्देहीका पार्टी कार्यकर्ताहरूसहित सँगै बसेको तस्बिर सार्वजनिक गर्दै पौडेलले हामी सँगै छौ भन्ने सन्देश फेसबुक मार्फत बाँड्नुभएको छ ।

तिलोत्तमा नगरपालिकाको योगीकुटीमा रहेको व्यवसायी कमल पौडेलको घरमा वासुदेवसँग सफल वार्ता गर्नुभएको पौडेलले केहीबेर अघिमात्र यस्तो सार्वजनिक गर्नुभएको हो । उहाँ आजै दिउँसो भैरहवा हुँदै तिलोत्तमा आइपुग्नुभएको थियो ।
स्रोतका अनुसार पाैडेलले घिमिरेलाई एमाले केन्द्रीय सदस्यमा मनोनित गराउने वचन दिनुभएको छ । साथै उहाँहरूको बीचमा घिमिरेले रूपन्देही २ र पाैडेलले रूपन्देही ३ बाट उम्मेदवार बन्ने विषयमा थप छलफल गरेर निर्णय गर्ने विषयमा पनि सहमति भएको छ ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार २०:४२












