अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा बढ्यो पर्यटकको चहलपहल
१७ पुस, काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु भएसँगै राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन् ।
काठमाडौँ महानगरपालिका–१६ ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयाल अङ्ग्रेजी नयाँ वर्षले नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको बताउनुहुन्छ । नब्बे कोठा रहेको उक्त होटल अङ्ग्रेजी नयाँ वर्षसँगै भरिभराउ रहेको उहाँ बताउनुहुन्छ । अधिकांश विदेशी पाहुना रहेको उहाँले बताउनुभयो ।
नयाँ वर्ष मनाउन छिमेकी मुलुक भारत, मलेसिया, सिङ्गापुरलगायत देशबाट पर्यटक आएका छन् । काठमाडौँ–२६ मा सञ्चालित काठमाडौँ आगन्तुक होटल तथा अतिथी होटल तथा अपार्टमेन्ट ठमेलका सञ्चालक भविश्वर शर्मा अङ्ग्रेजी नयाँ वर्षसँगै ठमेल क्षेत्रको पर्यटन चलायान भएको बताउनुहुन्छ ।
“नेपाल घुम्न आउने अधिकांश विदेशी पर्यटक ठमेल आउने गरेका छन्, अङ्ग्रेजी नयाँ वर्षले ठमेल क्षेत्रलाई केही राहत पुगेको छ”, उहाँ भन्नुहुन्छ । अङ्ग्रेजी नयाँ वर्षमा आफ्ना दुबै होटल भरिभराउ रहेको उहाँको भनाइ छ ।
ठमेलमा साना तथा ठूला गरी झन्डै ३०० होटल रहेका छन् । यस्तै ३०० भन्दा बढी रेष्टुरेन्ट छन् । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका शर्माको कार्यकालमा ठमेल क्षेत्रमा तारको व्यवस्थापन, सिसी क्यामरा जडानलगायतका कामलाई अगाडि बढाइएको थियो । उक्त कार्यले हाल पनि निरन्तरता पाएको छ ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष एवं कामपा–२६ मा सञ्चालित ‘काठमाडौँ इको होटल’का सञ्चालक सहदेव (विमल) धमला क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षमा ठमेल क्षेत्रमा पर्यटकको चहलपहल बढेको बताउनुहुन्छ । अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा भारतीय पर्यटकको बुकिङ बढेको छ ।
विश्वसम्पदा सूचीमा रहेका काठमाडौँ उपत्यकाका भक्तपुर, पाटन, स्वयम्भू, पशुपति र वसन्तपुरलगायत राजधानीका मुख्य पर्यटकीयस्थल घुमेपछि पर्यटकको बासस्थानको मुख्य रोजाइ ठमेल मानिन्छ । क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षमा भारत, अमेरिका, युरोप, चीन तथा बङ्लादेशका पर्यटक बढीजसो आउने गरेका छन् । मुख्य बजार वरपर घुम्न वा राजधानी बाहिरका पर्यटकीय गन्तव्य पुग्नका लागि सहज हुने भएकाले ठमेल विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । राजधानीपछि पर्यटकको रोजाइमा पोखरा, अन्नपूर्ण क्षेत्र, लुम्बिनी, सौराह, जनकपुर र सगरमाथा आधार शिविरलगायतका क्षेत्र पर्दछन् ।
ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेलमा बस्ने गरेका छन् । काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारी वार्षिक अर्बौँ रुपैयाँको कारोबार हुने ठमेललाई व्यवस्थित रूपमा सञ्चालन गर्न महानगरपालिका लागिरहेको बताउनुहुन्छ ।
“ठमेलभित्रका गल्ली कालोपत्र गर्ने, सिसी क्यामरा जडान गर्ने, तार व्यवस्थापन, ढल व्यवस्थापनलगायत काम स्थानीय सरकारले प्राथमिकताका साथ गर्दै आएको छ”, उहाँ भन्नुहुन्छ । ठमेलभित्रको सुरक्षा भने प्रहरी वृत्त लैनचौर र प्रहरी वृत्त दरबारमार्गले गर्दैआएको छ ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १८:११












