१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

निवर्तमान सांसद बासुदेव घिमिरेले छाडे एमाले, विष्णु पौडेलविरूद्ध चुनाव लड्ने

२५ पुस, काठमाौँ । नेकपा (एमाले)का नेता एवं निवर्तमान सांसद बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएको छ । मंगलबार राति फेसबुक मार्फत घिमिरेले पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

घिमिरेले मंगलबार मध्यरातमा भन्नुभएको छ, ‘पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु ।’

घिमिरे केही साता अघि सम्पन्न नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित हुनुभएको थियो । घिमिरेले एमाले परित्याग गर्दै अहिलेसम्म प्राप्त गरेको पद र जिम्मेवारीका लागि सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै भन्नुभएको छ, ‘सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई समृद्धिको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव यहाँहरू सवैसँग सँगसँगै रहने छु ।’

उहाँले अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि रहेकोमा जोड दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो ।’

२०७४ सालमा तिलोत्तमा नगरपालिकाका प्रमुख हुँदा उहाँले नेपालकै उत्कृष्ट पालिका बनाउनुभएको थियो । घिमिरेको नेतृत्वमा तिलोत्तमा फोहोर व्यवस्थापनमा अब्बल नगरपालिका सावित भएको थियो ।

dainiki.com

घिमिरेले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रूपन्देहीको क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने निर्णय गरिसक्नुभएको छ । अहिलेसम्मको राजनीतिमा साथ दिएकोमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई केहीदिन अघि घरैमा पुगेर पार्टी परित्यागको जानकारी गराउनु भएको थियो ।

सो अवसरमा उपाध्यक्ष पौडेलले एमालेको केन्द्रीय सदस्य बनाउने कुरामा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका कारण सम्भव नभए पनि प्रतिनिधिसभा निर्वाचन तपाइले नै लड्नुपर्छ भनेर क्षमा माग्दै सम्झाउनुभएको भेटमा सहभागी नेताले दैनिकीसँग बताउनुभयो । सो अवसरमा घिमिरेले पौडेललाई आफूले विष्णु पौडेलाई चुनाव हराउन मन नभएकाले यस पटक एमालेको समानुपातिक सूचीमा बस्न अनुरोध गर्नुभएको थियो । सो अवसरमा घिमिरेले आफूले क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने उद्घोष समेत गरेर थप कुरा नगरी बाहिरीनु भएको थियो ।

घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने सम्भावना रहेको छ । उहाँको रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनसँग समेत राम्रो व्यक्तिगत सम्बन्ध रहेको स्रोतले बताएको छ । लामिछाने भैरहवा कारागारमा रहँदा भेट्ने एमालेका एक्लो नेता घिमिरे नै हुनुहुन्छ । त्यो भेट र जन्जी प्रदर्शनपछि घिमिरेले दिएको अभिव्यक्ति र फेसबुकमा राखेको टिप्पणीका कारण पार्टी अध्यक्ष ओली र महाचसिव पोखरेलको नजरमा घिमिरे पर्नुभएको थियो । एमालेमा ओली र पोखरेलको थिचोमिचो सहनुभन्दा ओलीले टिकट दिएको उम्मेदवारलाई नै हराएर प्रतिनिधिसभा जित्छु भन्ने अठोट घिमिरेले गर्नुभएको उहाँको निकटहरूले बताएका छन ।

घिमिरे विघटित प्रतिनिधिसभामा भने रुपन्देही क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले पराजित गर्दै घिमिरे विजयी हुनुभएको थियो । घिमिरेले एमाले परित्याग गरेर विष्णु पौडेलको विरूद्धमा उम्मेदवारी दिने बताएपछि एमालेभित्र तरङ्ग उत्पन्न भएको छ ।

कतिपयले भने घिमिरे रास्वपाबाट उम्मेदवार भए पौडेलले एमालेबाट चुनाव नलड्ने तर्क समेत गर्न थालेका छन । यसअघि एमालेकै नेताहरूले हराउन खोज्दा पनि राजधानीको विषयलाई लिएर पौडेललाई कांग्रेसका कार्यकर्ताले भोट दिएकोमा यो पटक त्यो अवस्था समेत टरेको छ ।

एमालेको जागरणसभाका नाममा वुटवलमा भएको एउटा कार्यक्रममा सम्बोधन गर्दै ओलीले उनै पौडेलको ठूलो मेहेनतले लुम्बिनीको राजधानी दाङमा पुर्याउन सम्भव भएको बताउनुभएको थियो । तर पौडेल स्वयं भने तत्कालीन अवस्थामा भएको आन्दोलन र सभामा सहभागी हुँदै राजधानी वुटवलमै राख्नुपर्छ भनेर बोलिरहनुभएको थियो । जुन सहभागिता र भाषणका कारण २०७९ को निर्वाचनमा कांग्रेसका कार्यकर्ताले मत दिएर विजयी गराएका थिए । तर अहिलेको मुखबाट वुटवलमै राजधानीबारे प्रष्ट कुरा सुनेकाले त्यहाँका स्थानीय भ्रममुक्त भैसकेका छन ।

प्रकाशित मिति : १५ पुष २०८२, मंगलवार २३:३०