१४ पुष २०८२, सोमबार | Mon Dec 29 2025

यस्तो छ जाँचबुझ आयोगसमक्ष तत्कालीन गृहमन्त्री लेखकले दिएको बयान (पूर्णपाठसहित)

१४ पुस, काठमाडाैँ । पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेन पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा आफूले आवश्यकताभन्दा बढी बल प्रयोगका लागि कुनै निर्देशन नदिएको बताउनुभएकाे छ ।

सोमबार छानबिन समितिलाई लिखित बयान दिँदै उहाँले यस्तो बताउनुभएकाे हाे ।

लेखकले जेनजी पुस्ताले शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति लिएकोबारे सुरक्षा समितिको बैठकमा बल प्रयोग गर्ने कुनै निर्णय नभएको उहाँले आयोगमा बुझाएको लिखित दस्तावेजमा उल्लेख छ।

‘सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रूपमा दुई तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहति (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्। यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला। दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रवन्ध मिलाउनु होला। तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुन सक्छ। प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, शर्कता अपनाउनु होला। मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो,’ उहाँले भन्नुभयाे।

भदाै २३ गते जेनजीहरूको आन्दोलनका क्रममा आन्दोलनकारीहरूको मृत्यु भएपछि गृहमन्त्रीको हैसियतबाट राजीनामा दिएको पनि उहाँले बताउनुभएकाे छ ।

‘राजनीतिमा नैतिकता सबैभन्दा मूल्यवान विषय हो भन्ने मेरो विश्वास रहेको छ। त्यसै कारण नैतिकताका आधारमा राजीनामा दिएको हो। अन्यथा यस्ता प्रदर्शनहरूमा गृहमन्त्रीले बल प्रयोग गर्ने बारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन। न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ,’ उहाँले भन्नुभएकाे छ, ‘गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन। त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन। सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने बिषयको न त कानूनी जिम्मेवारी छ, न त यस बारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ। न त त्यस्तो कुनै आदेश नै दिइएको थियो।’

यस विषयमा सरकार प्रमुखसँग पनि परामर्श गर्नु उचित हुन्छ भनेर आफूले बैठक गर्नुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीको समय लिएको र सुरक्षा समितिको बैठक सकिनासाथ सिंहदरवारबाट सिधै बालुवाटार गएको उहाँले बताउनुभएकाे छ ।

बालुवाटारबाट छुट्टिने बेला पनि प्रधानमन्त्री र आफूले सबै सुरक्षा निकायकाे समन्वयमा काम गरी सुरक्षाको राम्रो प्रवन्ध मिलाउनु भनेको उहाँको बयानमा उल्लेख छ।

‘सुरक्षाको राम्रो प्रवन्ध मिलाउनुहोला र क्याजल्टी नहोस भनेका थियौं,’ उहाँको बयानमा उल्लेख छ, ‘सबै सुरक्षा निकायका प्रमुख-प्रतिनिधि सोही अनुसार काम गर्ने भनी बिदा हुनु भएको हो।भदौ २३ गते बिहान पनि मैले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकलाई फोन गरी क्याजल्टी नहोस् है, ख्याल गर्नु होला भनेको थिएँ र त्यही कुरा गृह सचिवसँग पनि भएको थियो।

प्रकाशित मिति : १४ पुष २०८२, सोमबार १६:१८