प्रदेशको राजधानी र नामकरण हिउँदे अधिवेशनले टुंग्याउँछः मुख्यमन्त्री राई
२० माघ, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामकरण प्रदेशसभाको आजदेखि शुरु हुने हिउँदे अधिवेशनमा टुंग्याउँने बताएका छन् । मुख्यमन्त्री राईले सकेसम्म राजनीतिक दलहरुको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामकरण टुंगाे लाग्ने जानकारी दिए ।

प्रदेशसभाको दोस्रो अधिवेशनसम्ममा महत्वपूर्ण २४ विधेयक पारित भइसकेको उल्लेख गर्दै मुख्यमन्त्री राईले चालू अधिवेशनमा प्रक्रियामा रहेका आठ विधेयक समितिमा र चार संसद्मा दर्ता गरिएका जानकारी दिए । मुख्यमन्त्री राईले अत्यावश्यक थप १० विधेयक संसद्मा ल्याउने तयारी भइरहेकाले तेस्रो अधिवेशनमा संसदीय समितिको सभापति चयन गर्ने कार्यसूची पनि रहेको बताए ।
मुख्यमन्त्री राईले प्रदेश १ लाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिलाई उच्च प्राथमिकता राखिएको जानकारी गराए । स्वच्छ वातावरण र हरियाली प्रदेश बनाउन प्रदेश सरकारले यही माघ २६ गते हरियाली अभियान सञ्चालन गर्ने जानकारी दिँदै मुख्यमन्त्री राईले भौगोलिक अवस्था, जनसङ्ख्या र जातीय विविधतालाई ध्यानमा राखेर सबैको भावनालाई कदर हुने हिसाबले प्रदेशको राजधानी र नामकरण हुने धारणा राखे ।
प्रकाशित मिति : २० माघ २०७५, आईतवार १३:३३












