नेपाललाई युक्रेन बनाउने षडयन्त्रको दोस्रो चरण शुरू हुँदैछ, देशभक्त शक्ति एकजुट हुनुपर्छः पोखरेल
१३ पुस, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने दोस्रो चरणको षडयन्त्रको तयारी भइरहेको बताउनुभएको छ ।
रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएपछि महासचिव पोखरेलले सो आशंका व्यक्त गर्नुभएको हो ।
बालेन र रविकाे नाम उल्लेख नगरी पोखरेलले फेसबुकमा लेख्नुभएको छ, ‘भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो । अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ ।’
पोखरेलले गत भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरिएको टिप्पणी गर्नुभएको छ । भदौ २३ को आडमा भदौ २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरिएको भन्दै उहाँले लेख्नुभएको छ, ‘यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशस् सार्वजनिक हुँदैछ ।’
महासचिव पोखरेलले देशको अहिलेको गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्ति सचेत र एकजुट हुन आवश्यक रहेको बताउँदै लेख्नुभएको छ, ‘यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्छ ।’

प्रकाशित मिति : १३ पुष २०८२, आईतवार ११:४०












