एमाले नेतृत्वलाई उम्मेदवार सिफारिसको मापदण्ड बनाएर निर्वाचनमा लाग्न योगेशको आग्रह
८ पुस, काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभाको समानुपातिक तर्फको निर्वाचनको उम्मेदवार सिफारिसको तयारीका लागि पार्टी महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबार बिहान उपमहाचसिव भट्टराईले फोन मार्फत पार्टी महासचिवको ध्यानाकर्षण गराउनुभएको फेसबुक मार्फत जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेश गर्नु पर्ने समय नजिक आईसकेको छ । पार्टीको बैठक बसेर मापदण्ड बनाएर तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन गर्नु पर्ने छ । महासचिव कमरेड शंकर पोखरेललाई फोन मार्फ़त यो विषय ध्यानाकर्षण गरेको छु ।’
एमाले यतिखेर निर्वाचन भन्दा पनि संसद पुनःस्थापनाको बाटोमा अघि बढ्न खोजेको देखिन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा सेटिङ मिलाएको दाबी गर्दै पार्टीका नेताहरू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतको नेताहरूलाई पनि कन्भिन्स् गर्नुभएको छ । सोही अनुसार विघटित प्रतिनिधिसभाको बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्चमा पूरक रिट दर्ताको तयारी चलिरहेको छ ।

प्रकाशित मिति : ८ पुष २०८२, मंगलवार १२:४८












