२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

गाउँपालिका अध्यक्षकै तीन श्रीमती, मन्दिर निर्माणमा समेत भ्रष्टाचार गरेपछि अख्तियारमा उजुरी

१९ माघ, काठमाडाैँ । अछामको ढकारी गाउँपालिकामा चरम आर्थिक अनियमितता भएको खबर छ । गाउँपालिका अध्यक्ष धनबहादुर बुढाको संलग्नतामा आर्थिक अनियमितता भइरहेको स्रोत बताउछ । २०५४ सालमा पहिलोपटक साविकको ढकारी गाउ विकास समितिको अध्यक्ष समेत रहेका उनले उक्त समयमा पनि गाउँको बजेट हिनामिना गरेर तराईमा घर घडेरी जोडेका थिए । तत्कालीन समयमा उनले गाउँमा आतंक नै मच्चाएका थिए । स्त्रीलम्पट स्वभावका उनको आतंक भोगेका त्यहाँका जनता उनको भ्रष्टाचार र आतंकका बिषयमा समेत खुलेर बोल्न सक्दैनन् । माओवादी आन्दोलन उत्कर्षमा रहेका बेला धनबहादुर बुढाले गाउ छाडेपछि भने त्यहाँका जनताले खुशियाली मनाएका थिए ।

महिलालाई देख्नै नहुने स्वभावका बुढाले दुई जना बालिकालाई जवर्जस्ती विवाह गरेका थिए । दिदीबहिनीसहित तीन महिलालाई श्रीमतीका रुपमा भित्र्याएका उनी महिलाको सवालमा कमजोर मानिन्छन् । उनले गर्दै आएको अराजकता र अन्यायको बिरोध गर्ने स्थानीय बुदे बुढा र देउमले बुढालाई जंगलमा खाडल खनेर ज्युँदै पुर्ने प्रयत्न गरेका थिए । हाल कांग्रेसबाट ढकारी गाउँपालिकाको प्रमुख बनेका उनले गाउँपालिकामा आएको बजेट दुरुपयोग गर्दै जुवा खेल्ने गरेका छन् । स्त्री र जुवाका सौखिन बुढाले गत बर्षको बजेटबाट करीब करोडौ रुपैयाँ निजी प्रयोजनमा खर्च गरेको स्थानीयले आरोप लगाएका छन् ।

प्रमुख बुढा, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर ओली र लेखापाल दीपक भण्डारीको मिलेमतोमा भ्रष्टाचार हुँदै आएकोे स्थानीयको आरोप रहेको छ । बुढा केही दिन अगाडि लेखापाल भण्डारी सरुवा भएर मंगलसेन जादा साथमै गएर फर्काएका थिए । कागजात मिलाउनमा माहिर भण्डारीले गाउँपालिका छाडेपछि आफू गाउँमै बस्न नसक्ने भन्दै साथमै गएको स्रोतले जानकारी दिएको छ ।

साँघु साप्ताहिकबाट साभार ।

त्यहाँका जनतालाई त्रसित बनाउन बुढाले आफैंमा दैवीशक्ति रहेको दाबी गर्दैआएका छन् । आफूमा दैवीशक्ति रहेको दाबी गर्ने बुढा नेपालको संविधान, कानुन र अख्तियार आफ्नो अधिनमा रहेको दाबी गर्दै मनपरी गर्दैआएको स्थानीयबासी बताउँछन् । आफू कानुन भन्दा माथि रहेको तथ्यका रुपमा ५५ बर्षे उनले जवर्जस्तीरुपमा गरेको बालबिवाहपछि पनि कसैले कारबाही गर्न नसकेको तर्क प्रस्तुत गर्ने गरेका छन् ।  धनबहादुर बुढालाइ काम गर्न कुनै नीति नियम र बिधिले अबरोध गरेको छैन ।

किनकि उनलाइ सघाउने हाकिम, लोखापालसहितको कर्मचारीको समूहले सघाइरहेकाले उनलाइ अनियमित काम गर्न सहज भएको छ । भारतीय टेलीभिजन च्यानल आजतकमा देखाइने एक विज्ञापन जस्तो चोर चोर मौसेरा भाइ भने जस्तै गाउँपालकिाको बजेटमा आफ्नो पनि भाग लागेकाले तत्कालीन एमालेको कर्मचारी संगठनका नेतासमेत रहेका प्रमुख प्रकासकीय अधिकृत टेकबहादुर वली र लेखापाल भण्डारीले राम्रै साथ दिइरहेका छन् ।

कर्मचारीको साथ पाएका गाउँपालिका अध्यक्ष बुढाले सबै बिधि प्रकृया लत्याएर काम गरिरहेका छन् । गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउदलाई बाहिर राखेर काम गरिरहेका उनीहरूले बडा अध्यक्षहरूलाइ भने डराइधम्काई हस्ताक्षर गराउने गरेका छन् । सबैभन्दा रोचक कुरा के भने ढकारीको गाउँ कार्यपालिकाको बैठक नबस्ने तर वडा अध्यक्षहरूलाई बुढाले आफ्नो कार्यकक्षमा बोलाएर हस्ताक्षर भने गराउँछन् । ‘हामी ज्यान जोगाउन पनि निर्णय पुस्तिकामा हस्ताक्षर गर्छौं त्यसमा के लेखिएको हुन्छ हामीलाई थाहा हुँदैन भन्ने उनीहरूको गुनासो मंगलसेनमा गरेको सुनिन्छ ।

स्थानीय तह बन्नु अघि साविकको ढकारीसम्म सीमित बुढाको आतंक साविकका ढकारी, ढुंगाचाल्ना, हिच्मा, बलाता र आधा घोडासैन गाविस मिलेर बनेको ढकारी गाउँपालिकासम्म फैलिएको छ । अछाम जिल्लाको साविकको १२ नम्वर इलाकाको अधिकांश भूगोल मिलाएर बनाइएको सुर्खेत र डोटी जिल्लासँग सीमा जोडिएको सदरमुकामदेखि विकट क्षेत्रमा रहेको यो गाउँपालिकामा गाउँपालिका अध्यक्षको डर त्रास यतिसम्म छ कि उनले जे गरेपनि जसो गरे पनि विरुद्ध बोल्ने कोही छैन । त्यसैले गाउँपालिका अध्यक्ष बुढा, हाकिम ओली र लेखापाल भण्डारीले फर्जी योजाना खडा गरी किर्तेको सहारामा अनियमितता गर्दैआएका छन् ।

घोडासैन–ढकारी–पुनेपाटा–ढुंगाचाल्ना ग्रामीण सडक, पुनेपाटा बेनीघाट सडकमा स्टीमेट अनुसार काम नगरी गाउँपालिकाबाट विनियोजित रकम ९० लाख रुपैयाँमा ४ सय मिटर मात्र काम गरी बिल फछ्र्यौट गरिएको छ । यी दुई योजनाको रकम गा.पा. अध्यक्ष बुढा, प्रशासकीय अधिकृत टेकबहादुर वली र लेखापाल दीपक भण्डारीले आपसमा बाँडेर लिएको आरोप छ । ढकारी–हिच्मा–चाइरा सडकमा मापदण्ड अनुसार नगरिएको गुणस्तरहीन कामको भुक्तानी दिएर भ्रष्टाचार गरेका छन् ।

स्वास्थ्य शाखा र पशुसेवा शाखामा औषधि खरिद कार्य प्रकृया अनुसार नभएको र शाखा प्रमुखलाई जानकारी नदिई कार्यालय प्रमुख आफंैले खरिद गरेको आरोप छ । गाउँपालिकाका अध्यक्ष बुढा र प्रमुख प्रसासकीय अधिकृत वलीले औषधि खरिदमा अनियमितता गरेका छन् । गा.पा. को गाडी, मोटरसाइकल, कम्प्युटर, फर्निचर खरिद तथा बलाता र ढुंगाचाल्नामा निर्माण भएका मिल खरिदमा प्रकृया नपुगेको र अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र लेखापाल आफैँले खरिद गर्दा ठूलै भ्रष्टाचार गरेको दावीसहित अख्तिायार अनुसन्धान आयोगसम्म उजुरी पुगेको छ ।

मन्दिर निर्माणमा पनि भ्रष्टाचार

जाल्पादेवी मन्दिर निर्माणका लागि कुल ५० लाख रुपैयाँ छुट्याइएको थियो । तर त्यसमा आधाभन्दा बढी भ्रष्टाचार भएको भन्दै स्थानीयले बिरोध गर्दैआएका छन् । २० लाख पनि खर्च नभएको मन्दिरमा फर्जी बिल पेश गरी भ्रष्टाचार गरिएको स्थानीयको आरोप छ । गुरुकुल मा.वि. ढकारीमा प्राविधिक शिक्षाका लागि छुट्याईएको ३० लाखमा कुनै पनि काम नगरी पेश्की फछर्यौट गर्दा पनि ठुलै रकम अनियमितता गरिएको छ ।

कोटेशन प्रक्रिया, इन्धन, यातायात, अनुगमन, उपचार खर्च र सञ्चार खर्चका नाममा अध्यक्ष बुढा, कार्यालय प्रमुख वली र लेखापालको मिलेमतोमा लाखौं रकम अनियमितता भएको स्रोतको दाबी छ । सामुदायिक सिकाई केन्द्रको सूचना केन्द्रका लागि आएको २ लाख रकम, गाउँपालिका फर्निचर लगायतका केही उपकरण र स्वास्थ्य चौकीको सोलार लगायतका सार्वजनिक सामग्री, बलाता खानेपानी मर्मत योजनामा अनियमितता भएको छ ।

मेलपोखरा ढकारी खानेपानी योजना निर्माणको ९८ लाख रुपैयाँ, सेवा परामर्शमा ३५ लाख, इन्धनमा रु. ३० लाख, घरभाडामा रु. ८ लाख, सञ्चारमा रु. ५ लाख, मर्मत रु.१५ लाख, कार्यालय सञ्चालन रु. ५० लाख, अनुगमन मूल्यांकन तथा भ्रमणमा रु.३० लाख, बिबिध खर्च रु. २० लाख देखाई अनियमितता गरिएको छ ।

त्यसैगरी पोशाकमा रु. १० लाख, कर्मचारी प्रोत्साहनमा रु. ८ लाख, अन्य सेवा शुल्कमा रु.९ लाख लगायतका थुप्रै शीर्षकहरूमा अनावश्यक बिल भरपाई मिलान गरी फछर्यौट गरिएको तथ्य फेला परेको छ । चिउरी प्रशोधनका लागि छुट्याइएको बजेटमा काम नगरी फछर्यौट गरेको भनेर अनियमिता गरिएको छ । ससर्त अनुदानमा रु. ११ करोड १७ लाख ६ हजार प्रक्रियागत कागजपत्र मिलाएर भ्रष्टाचार भएको छ ।

समअनुदानमा रु. २० लाख, महिला बिकास कार्यक्रममा रु. १३ लाख र स्वास्थ्य चौकी कर्मचारी व्यवस्थापनमा रु.२३ लाख २७ हजारमा समेत अनियमितता भएकाले उजुरीमा छानविन गर्न माग गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरमा दर्ता भएको निवेदनपछि छानविन प्रक्रिया बढाउन जिल्ला समन्वय समितिमा लेखिपठाएको थियो ।

जिल्ला समन्वय समितिले लेखापाल शरद ढुंगानालाई छानविन गर्न पठाएको थियो तर, ढुंगानाले छानबिन गर्नुको साटो त्यहाँ कागजात मिलाउन सहयोग गरेको स्रोतले बताएको छ । ढुंगानाले गरेको छानविनमा चित्त नबुझेको भन्दै स्थानीय जनताले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा उजुरी गरेका थिए । उजुरीपछि अख्तियारले प्राविधिक टोली खटाएको थियो । स्थलगत अनुसन्धानका लागि प्राविधिक फिल्डमा पुगेका थिए । तर त्यसपछि छानबिन अगाडि नबढेपछि वडा नं २ का अध्यक्ष नहकुल साउद आश्चर्यमा परेका छन् ।

(साँघु साप्ताहिक, माघ १४बाट साभार )

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार २०:५६