जेन्जी विद्रोहमा हेलिकप्टरमा भागेका ओली र कुटाइ खाएका देउवाबीच दोस्रो भेटवार्ता
७ पुस, काठमाडाैँ । जेन्जी विद्रोहमा ज्यान जोगाउन प्रधानमन्त्रीको कुर्सी छाडेर हेलिकप्टरमा बालुवाटारबाट भागेका एमाले अध्यक्ष केपी शर्मा ओली र सोही विद्रोहमा आफ्नै घरमा मरणासन्न हुने गरी कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बीचमा सोमबार दोस्रो पटक भेटवार्ता भएको छ ।
देउवा निवास महाराजगञ्जमा भएको भेटमा उहाँहरूको बीचमा पछिल्लो सयम जेन्जी प्रदर्शन र विद्रोह अघिको अवस्था अर्थात संसद पुनःस्थापना गरेर पुनः ओली र देउवा आलोपालो प्रधानमन्त्री भएर सत्ता सञ्चालन गर्ने विषयमा छलफलमा हुनुहुन्छ ।

उहाँहरूले बहुमत सांसदको हस्ताक्षर संकलन गरेर सर्वोच्चमा पुरक रिट निवेदन दिने तयारी समेत गरिरहनुभएको छ । साथै ओलीले सर्वोच्चका न्यायाधीशसँग आफू नियमित सम्पर्कमा रहेको भन्दै कांग्रेस नेतृत्वलाई समेत चुनावको बाटोबाट संसद पुनःस्थापनाको मार्गमा अघि बढाउन सफल हुनुभएको छ ।
सोमबारको छलफलमा देउवा पत्नी डा अारजु राणा देउवा र एमाले महासचिव शंकर पोखरेल पनि सहभागी हुनुभएको छ । अरू समय पत्नी राधिका बोकेर हिड्ने अोलीले सोमबार भने पार्टीको महासचिवमा दोस्रो पटक विजयी पोखरेलसँग साक्षात्कार गराउन सँगै लगेको बुझिएको छ । तस्बिरः दिनेश भण्डारी, ओलीको सचिवालय
प्रकाशित मिति : ७ पुष २०८२, सोमबार १६:१०












