रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
७ पुस, काठमाडाैँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेकाे हो।
सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ। अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।
लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
रिलायन्स स्पिनिङ्ग मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ। कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, यूके लगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको छ।
प्रकाशित मिति : ७ पुष २०८२, सोमबार १२:४४












