‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न उद्योग क्षेत्रको विकास जरुरीः पूर्वप्रधानमन्त्री खनाल
१९ माघ, काठमाडाैँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि सरकार लागेको बताउनुभएको छ ।नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घको ‘पाँचौँ साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिक मुद्दा समाप्त भएकाले अब आर्थिक विकास आवश्यक छ ।”
पूर्वप्रधानमन्त्री खनालले मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न उद्योग क्षेत्रको विकास हुनु जरुरी रहेको उल्लेख गर्दै संविधानले उद्योगी व्यापारीको हकलाई समेटेको बताउनुभयो । उद्योग क्षेत्रको विकासका लागि आवश्यक ऐन कानून निर्माणमा सरकार लागेको बताउँदै उहाँले मुलुकको विकासका लागि कृषि, पर्यटन र जलस्रोतमा विशेष ध्यान दिनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

उद्योग विभागका निर्देशक जीवन सेढाईंले उद्योग, व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि राज्यको पूर्ण सहयोग रहने बताउनुभयो । “औधोगिक व्यवसाय ऐन आए पनि नियमावली र कानून नबन्दा समस्या उत्पन्न भएको छ”, उहाँले भन्नुभयो । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले राज्यलाई कर तिरेर आफ्नो व्यवसाय सञ्चालन गर्दा पनि मुलुक उद्योग र व्यवसायमैत्री हुन नसकेको बताउनुभयो ।
प्रकाशित मिति : १९ माघ २०७५, शनिबार १९:४९












