२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

अर्थमन्त्री खतिवडा भन्छन ‘बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने रहेछ’

१९ माघ, तम्घास । अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकारले देशको समृद्धि र विकासको लागि ट्रयाक खोल्दै गरेकाले अब विकासको बाटो अघि बढ्नेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले ‘बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने’ भन्ने उखान जस्तै सरकारले राम्रै काम गरिहेको अवस्थामा बजारमा मिठो चामल पनि नबिकी राखेको उहाँको तर्क थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगै कालीगण्डकी करिडोरअन्र्तगत बाग्लुङ खण्डसडकको मालढुङ्गामा नेपाली सेनाले १० मिटर चौडा पार्न लागेको सडकको सुभारम्भपछि गुल्मीको रुरु क्षेत्रअन्तर्गत आज रिडीमा स्थानीय तहका सरोकारवालासँग आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले सो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले सरकारले आगामी पाँच वर्षभित्रमा चुनावी घोषणापत्रमा उल्लेख गरेका सबै कुरा पूरा गर्ने र अर्को चुनावमा जनतासँग मत माग्न जाँदा शिर ठाडो पारेर जाने गरी काम गर्न लागेको बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता बढेन भनेर नआत्तिन र केही समय धैर्य गर्न आग्रहसमेत गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “आर्थिक अनुशासन विना आर्थिक स्रोत सङ्कलन हुँदैन, त्यो सङ्कलन नभई वितरण गर्ने क्षमता हुँदैन ।”

सीप विहीन शिक्षाले रोजगारी दिन नसक्ने भन्दै मन्त्री खतिवडाले सरकारले सीपसहितका प्राविधिक शिक्षा प्रदान गर्न र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रहेर सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा लिने वातावरण तयार गर्न सरकार लागि परेको उल्लेख गर्नुभयो ।

उहाँले रिडी क्षेत्रको विकासका लागि रानीघाटदेखि रिडीसम्म जलासाय निर्माण र रिषीकेश मन्दिरमा धर्मशाला निर्माण जस्ता महत्वपूर्ण योजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । रासस

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार १९:३६