५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

५ पुस, काठमाडौँ । नेकपा (एमाले)को नेता नविना लामाले आफू फेरि टुहुरो बनेको बताउनुभएको छ । एमाले केन्द्रीय कमिटीमा चुनावमा पराजित भएपछि उहाँले सामाजिक सञ्जाल फेसबुकको उपयोग गर्दै एउटा टिप्पणी सार्वजनिक गरेर टुहुरोपनामा बढेको बताउनुभएको छ ।

बुबा बितेको चारमहिना नपुग्दै महाधिवेशनमा सहभागी भएको तर विद्यादेवी भण्डारीको सदस्यताका बारेमा प्रश्न उठाउँदा केपी ओलीले प्यानलमा नराखेर केन्द्रीय सदस्यमा हराएको उहाँको ठहर छ ।

यस्तो छ नविना लामाको टिप्पणी 

फेरि पनि श्रद्धेय अध्यक्षज्यू, सम्पूर्ण पदाधिकारीज्यूहरू तथा सिंगो केन्द्रीय कमिटीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । बुबा बितेको चार महिना पुग्दै गर्दा मनभित्रको टुहुरोपन बोकेर ११औँ महाधिवेशनमा सहभागी भएँ । आज फेरि पनि त्यही गहिरो टुहुरो भएको अनुभूति मनमा बल्झिरहेको छ ।

अध्यक्ष कमरेड केपी शर्मा ओलीको समूहमा अन्तिम क्षणसम्म इमानदार प्रयास गरियो, तर टिममा समेटिन सकिनँ । अध्यक्ष कमरेडप्रति मेरो गहिरो विश्वास थियो, किनकि कक्षा ६ देखि एमाले–अखिलको राजनीतिमा होमिँदै काभ्रे जिल्ला कमिटी, अखिल केन्द्रीय सदस्य, सचिवालय सदस्य, स्ववियु सचिव, सभापति हुँदै अखिलको उपाध्यक्ष, महासचिव र अध्यक्षसम्मका जिम्मेवारीहरू वहन गरेँ । पार्टी केन्द्रीय सदस्य र समानुपातिक सांसदको भूमिका पनि निर्वाह गर्ने अवसर पाएँ । यो सम्पूर्ण राजनीतिक यात्रा कमरेड हरु कै नेतृत्व र टिमसँग जोडिएको थियो ।

तर टिम निर्माणको घडीमा त्यो टिममा मेरो नाम नरहनु मेरो मनका लागि अत्यन्त पीडादायी यथार्थ बन्यो । यसको कारण पार्टी पुनर्गठनसम्बन्धी र क. विद्या देवी भण्डारीको पार्टी सदस्स्यको विषयमा बैठकमा व्यक्त गरिएको मेरो धारणा पनि रहेको बुझाइमा छु । तर बोलेकोहरू टिममा परेको छ । मैले अभ्यास गरने पूगेन की ???

मैले महिला खुला तर्फ उम्मेदवारी दिएँ । १५७९ मत प्राप्त गर्दै केवल २० मतको झिनो अन्तरले पराजित भई ५३औँ स्थानमा सीमित हुन पुगेँ । पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म कहिल्यै नहारेको मेरो राजनीतिक यात्रामा यो पहिलो हार थियो, जसले मनलाई गहिरो चोट दियो । मत माग्ने क्रममा स्वास्थ्यले साथ नदिई ज्वरोका कारण विश्राम गर्नुपर्ने अवस्था आउनुले त्यो समय झनै कठिन बन्यो ।

यो महाधिबेशनमा धेरै राम्रा हरू हारयो भने धेरै आए पनि !! यति कठिन घडीमा पनि माया, विश्वास र साहस दिएर मत दिनुहुने सबैप्रति मेरो हृदय कृतज्ञताले भरिएको छ । मेरो लागि सडक–सडकमा मत माग्दै पर्चा बाँडेर हिँड्नुहुने मेरा श्रीमान, अखिलका दाजु–बहिनीहरू, काभ्रे जिल्लादेखि देशभरिका ती प्रिय कमरेडहरू सबैप्रति मुटुदेखि नमन र हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

तपाईंहरूको साथ, माया र विश्वासले मेरो खालीपनलाई फेरि आशा, आत्मबल र निरन्तर संघर्ष गर्ने हिम्मतमा रूपान्तरण गरिदिएको छ । संघर्ष जारी छ । यात्राको अध्याय अझ बाँकी छ ।

प्रकाशित मिति : ५ पुष २०८२, शनिबार १०:१२