आई लभ यू
~प्रा डा विदुर चालिसे
लिङ्ग एउटा थियाे । उसलाई तेस्राे लिङ्गी भनिन्थ्याे । जब रेलकाे केबिनमा म उक्लँन्थेँ । उसकाे भावपूर्ण निकटताले बतास उड्थ्याे । सुन्दरता, शालिनता, भद्रता र मायाका लजालु स्वरूप ओस्ताजका झैं मधुर वाणी र नागिन नृत्यका लहरहरू देखिन्थ्याे । मेराे कपाल फुलेकाे देखेर हाे वा झरिलाे अनुहार देखेर हाे । उसले एक सासमा अमिलाे अनुहारका साथ भन्याे ।
–“हजुर त मलाई खुब मन पर्छ !”
म जस्ताे पहिलाे लिङ्गीकाे नाक एकाएक सतहबाट सगरमाथा झै उठ्याे । उठेकाे नाक लिएर वरपर सबैतिर जब हेरेथेँ । यात्रा सफल हुने विश्वास जाग्दै गयाे । अग्लाे शिखरबाट जब बादलका लर्काहरू छेउछाउतिर उडिरहेका हुन्थे । सुसाए झैँ भाषामा भन्थे ।
–“अवसरकाे यात्रा हाम्रै हाे ।”
तेस्राे लिङ्गीकाे हाउभाउ, चन्चलता, मस्किलाे मुस्कान, चम्किलाे मृगनयनी हेराइ तथा फुसफुस उडेकाे सुगन्धकाे लयमा उसले म छेउ आएर भन्याे ।
–“हजुरकाे मलाई कस्ताे माया लाग्छ !”
–“कस्ताे माया ?”
–“मुटुभरिकाे नि !”
तेस्राे लिङ्गीकाे सुगन्धकाे आकर्षणमा मेराे अँगालाे झ्याप्पै उसकाे काँधमा पुग्याे । दुवैकाे आँखा एकआपसी हेराहेरमा माेहित भए । उसले मेराे गालामा एक चुप्पा हान्याे । मैले पनि त थाम्न सकिन । अर्काे दुई चुप्पा उसकाे निधारमा गरेँ । मेराे हात कसाेकसाे उसकाे छातीमा जब पुगेथ्याे । मेराे इमाेसनकाे चक्रबात एकाएक खत्र्याक खुत्रुक भएर सिथिल भयाे । मैले उसलाई आँखा तरेर साेधेँ ।

–“खै छाती त छैन ! कसरी चलाउनु जिन्दगी !”
तेस्राे लिङ्गीलाई अप्ठेराे पर्याे । सबै आफ्नाे भेद खाेल्न उसलाई निकै गार्हाे भयाे । अनकनाइ अनकनाई उसले सफाइ दियाे ।
–“खासमा म दाेस्राे लिङ्गी हुँ के बड्डा !”
मेराे नाै नाडी गलेर आयाे । आवेश, उत्तेजना र शक्तिले प्रफुल्लता फेरि प्रकट हुन थाल्याे । फेरि उसलाई आँखैआँखाले साेधेँ ।
–“दाेस्राे लिङ्गी भए खै त छातीकाे उचाई !”
तेस्राे लिङ्गीकाे नटखटले नयाँ दृश्य दियाे । उसले हतपत आफ्नाे छातिमाथि बिच्छ्याएर राखेकाे दुई पाेके बेलुन फुकेर पुष्ट बनायाे । मेराे हातमा उसकाे छातिकाे तरङ्ग परावर्तन भयाे । म उत्तेजनाले चिच्याउन थालेँ
–“क्रान्तिका मेरा सहयाेध्दाहरू !”
विस्मृत भावमा उज्यालाे देख्न थालेँ । वरपर मेरा अगाडि डान्सिङ लाइटहरू झिमझिम गरिरहेका थिए । निकै माेहक दृश्यकाे घेरामा मेरा आगामी यात्राकाे मताव, दिमागदेखि चड्किरहेकाे थियाे । तेस्राे लिङ्गीकाे भ्रम र यथार्थकाे दिग्भ्रममा पाइला अगाडि बढाउँदै म लम्किरहेकाे थिएँ । सबैतिरबाट कर्तल ध्वनिका साथ तालिमा मेराे जय जय गान हलमा उडिरहेकाे थियाे ।
–“आई लभ यू बा ! आई लभ यू बा !!”
जब लिङ्ग परिवर्तन गर्ने समय आउने गर्थ्याे । तब पहिलाे र दाेस्राे लिङ्गीहरू निकै हतास हुन्थे । तेस्राे लिङ्गीहरूकाे भिडमा चिच्याएर खुब रून्थेँ र भन्थेँ ।
–“म मात्रै हाे, शक्तिपीठ !”
प्रकाशित मिति : ५ पुष २०८२, शनिबार ०९:३७












