४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

निर्वाचन सुनश्चित भइसकेको छ, अब शंका नगर्नुस्ः मन्त्री खरेल

४ पुस, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको  बताउनुभएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जनधनको क्षतिका कारण सृजित भय र अशान्तको अवस्थालाई छोटो समयमै सरकारले सामान्यीकरण गर्न सफल भएको उल्लेख गर्नुभयो ।

वर्तमान सरकार गठनको १०० दिनका सन्दर्भमा नेपाल टेलिभिजन र रासससँग कुराकानी गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले जेनजी आन्दोलनमा ७६ जनाको निधन र प्रारिम्भक अनुमानअनुसार ८४ अर्बभन्दा बढीको भौतिक क्षति भएको अवस्थाबाट यहाँसम्म ल्याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले आमजनमानसमा पनि डर र त्रास कम हुँदै गएको र समाज सकारात्मक दिशातर्फ उन्मुख भइरहेको स्पष्ट पार्नुभयो ।

आगामी फागुन २१ गते निर्वाचन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणलगायत कार्यदेशसहित जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको पृष्ठभूमि उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले निर्वाचनको सुनश्चितता भइसकेकाले अब शंका नगर्न आग्रह गर्नुभयो ।

“आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका बनाएर काम गरिरहेको छ । राजनीतिक दलहरू उत्साहजनक रूपमा निर्वाचनमा होमिइरहेको अवस्था छ । जनता पनि निर्वाचनप्रति उत्साहित छन्”, उहाँले भन्नुभयो, “निर्वाचनका लागि आठ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन भइसकेकाले निर्वाचन सुनिश्चित भएको छ ।”

सरकार निर्वाचनका लागि प्रतिबद्ध रही निर्वाचन आयोग, सुरक्षा निकायका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको उहाँको भनाइ थियो । मन्त्री खरेलले निर्धारित समयमै निर्वाचन गराउन राजनीतिक दल, सरोकारवाला संस्थालगायतसँग वार्ता भइरहेको पनि उल्लेख गर्नुभयो ।

मन्त्री खरेलले सरकारले पाएको अर्को कार्यदेशअनुसार सुशासन कायम गर्ने सिलसिलामा खर्चमा मितव्ययी हुने र आवश्यकता बाहिरका आयोजनाको बजेट कटौती गरिरहेको बताउनुभयो । साथै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन पनि सरकारले ध्यान दिएको उहाँको भनाइ छ ।

“भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा विगत जस्तो सरकारबाट राज्यका निकायलाई हुने दबाब र प्रभावमा पार्ने काम भएको छ्रैन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र ढङ्गले काम गर्ने वातावरण मिलाएको छ । फलस्वरूप १०० दिनमा ३० भन्दा बढी ठूला भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएका छन्”, उहाँले भन्नुभयो, “सरकारअन्तर्गतका निकाय केन्द्रीय अनुसन्धान ब्यूरो, राष्ट्रिय सतर्कता केन्द्रले स्वतन्त्र र व्यावसायिक ढङ्गले काम गरिरहेका छन् ।”

मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा उठाइएको मुद्दा सम्बोधन गर्ने क्रममा जेनजी पुस्तासँग महत्त्वपूर्ण समझदारी भएको बताउनुभयो । जेनजी विद्रोह हो की आन्दोलन भन्ने अन्योलतालाई चिर्दै सरकारले जनआन्दोलनको मान्यता दिएको उहाँको भनाइ थियो । त्यो विषय राजपत्रमा प्रकाशित भइसकेको उहाँले उल्लेख गर्नुभयो ।

आन्दोलनका क्रममा भएको जधनधनको क्षतिको छानबिन गर्न आयोग गठन भइ विधि, प्रक्रिया र कानुनसम्मत ढङ्गले काम भइरहेको जनाउँदै उहाँले आयोगको कार्यक्षेत्र सरकारले मिच्न नपाउने र आयोगले स्वतन्त्र रूपले काम गर्ने बताउनुभयो । आयोगको काममा सरकारले हस्तक्षेप गर्न नमिल्ने उहाँको भनाइ थियो ।

आसन्न निर्वाचनमा ९९ प्रतिशतभन्दाबढी राजनीतिक दलको सहमति रहेको जनाउँदै उहाँले भन्नुभयो, “सोहीअनुसारको दलहरूले आ–आफ्नो उम्मेदवारको नाम सिफारिस गरिरहनुभएको छ । कतिपयले समानुपातिक सूचीभित्र पर्ने उम्मेदवारको बारेमा छलफल गरिसक्नुभएको छ । कैयौँ राजनीतिक दल गाउँदेखि सहरसम्म स्थानीयदेखि केन्द्रसम्म चुनावी अभियानमा होमिसकेका छन् ।”

केही दलले चुनाव अगावै महाविधशेन सम्पन्न गरेर नेतृत्व चयन गरिसकेका बताउँदै उहाँले केही राजनीतिक दलले भने सुरक्षा चासो देखाएको बताउनुभयो । मन्त्री खरेलले भन्नुभयो, “केही दलले निर्वाचनको वातावरण सँग जोडेर केही हतियार र कैदी बाहिर छन् भनी  चासो देखाएका छन् । उहाँहरूले चुनावमा भाग लिन्नौँ भनेका छैनन् । उहाँहरू निर्वाचन र लोकतन्त्रप्रति विश्वास राख्ने पार्टी हो भनिरहेको बेला हामीले शंका गर्न मिल्दैन ।”

भयरहित वातावरणमा निर्वाचन हुनुपर्छ भन्ने दलको चासो सरकारले बुझेको स्पष्ट गर्दै नेपाल सरकारका प्रवक्ता खरेलले भन्नुभयो, “पूर्णरूपमा निस्पक्ष, स्वतन्त्र र धाँधलिरहित चुनाव गराउनेमा सबै राजनीतिक दल र जनतालाई सरकारको प्रतिबद्धता व्यक्त गर्छ ।” उहाँले अधिकांश फरार कैदी कारागारमा फर्किसकेको उल्लेख गर्दै चुनावको अवधिसम्म सबै कैदीलाई कारागारमा फर्काउनेमा प्रतिबद्धता जनाउनुभयो । यसका लागि त्यसमा गृह प्रशासन लागिरहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार १८:५०