कानुन हातमा लिने नेविसंघको प्रयास, सरकारी गाडीमा कतै आगजनी कतै साँचो कब्जा
१९ माघ, काठमाडाैँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले कानुन हातमा लिने कोशिश गरेक छ । उसले कतै सरकारी गाडी अागजनी त कतै साँचो कब्जामा लिएको छ । नेविसंघका पूर्व नेता डा गोविन्द केसीको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर सरकारविरूद्ध उत्रिएको नेविसंघले पोखरामा त एउटा सरकारी गाडीनै जलाएको छ ।
नेविसंघका नेताहरूले काठमाडाैँमा दुइवटा सरकारी गाडीको साँचो कब्जा गरेका हुन । उनीहरूले लाजिम्पाटबाट प्रधानमन्त्री कार्यालयका सचिव चढेको गाडीको साँचो उनीहरुले कब्जामा लिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सचिव शिशिरकुमार ढुंगाना चढेको बा१ झ ९९९५ नम्बरको गाडी नेविसंघका कार्यकर्ताले कब्जा गरेका हुन । त्यस्तै उनीहरूले मे १झ १५१ नम्बरको गाडीको चाबी कब्जामा लिएका थिए ।
संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा सडकमा सरकारी गाडीहरुको साँचो कब्जामा लिइएको नेविसंघका नेता निरञ्जन थापाले बताए । उनले पाँच बजेपछि गाडीको साँचो ट्राफिक प्रहरीलाई बुझाइएको बताए ।

नेविसंघले पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिकै महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको छ । पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन उनकाे डेरा मासबार गएको गाडीमा रहेका चालकलाई झारेर विद्यार्थीहरुले आगो लगाएका हुन् । गाडीमा लागेकाे आगो दमकलले निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा रहेकाे प्रहरीले जनाएकाे छ ।
यसैबीच सरकारी गाडी जलाउने पोखरा विश्वविद्यालयका नेविसंघ सभापति डिफान भुजेलसहित ५ कार्यकर्ता पक्राउ परेका छन् । पोखराको मासवारमा सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले उनिहरूलाइ पक्राउ गरेको हाे ।
प्रहरीले लेकसाइडस्थित एक होटलबाट नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मीप्रसाद पौडेल, नेविसंघ पोखरा विश्वविद्यालय पूर्वसभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डी कलेजका सभापति विनय पौडेललाई पक्राउ गरेकाे हाे ।

पक्राउ परेका विद्यार्थीको साथबाट बा५६प ३४८६ नम्बरको मोटरसाइकल, ग१४प १७२९ र ग८प १६८९ नम्बरको स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनिहरूमाथि अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ । पोखरा महानगरको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा१झ ५८७९ नम्बरको पिकअप भ्यानमा विद्यार्थीले पेट्रोल छर्केर आगो लगाएका थिए ।
प्रकाशित मिति : १९ माघ २०७५, शनिबार १८:२६












