४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

सपना असल कम्युनिष्ट बन्ने थियो तर सबै मानकहरू पूरागर्न सकिनः काशिनाथ अधिकारी

४ पुस, काठमाडौँ । नेकपा (एमाले)को सक्रिय राजनीतिबाट विदा लिनुभएको संगठन विभागको पूर्व प्रमुख काशिनाथ अधिकारीले सपना असल कम्युनिष्ट बन्ने भए पनि सबै मानकहरू पूरागर्न नसकेको बताउनुभएको छ । ५० वर्षको सक्रिय राजनीतिमा पूर्णबिराम लगाउँदै उहाँले ४४ वर्ष पूर्णकालीन राजनीति गरेको जानकारी दिनुभएको छ ।

dainiki.com

अधिकारीले शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुक मार्फत अब आफू साधारण सदस्यमात्र रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भव काम गर्ने बताउनुभएको छ । एमालेको एघाराैँ महाधिवेशनसँगै अधिकारीसहित पहिलो पुस्ताका पाँच नेताले सक्रिय राजनीतिबाट विदा लिनुभएको छ ।

यस्तो छ उहाँको टिप्पणी

सक्रिय राजनीतिबाट विदा

पचास बर्षको राजनीतिक जीवनमा ४४ बर्ष पूर्णकालिन भएर काम गरें । जति दिन काम गरें पुरा मनले गरें । इमान, निष्ठा र समर्पणकासाथ गरें । तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरें ।

म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पुरागर्ने मेरो कार्यशैली रह्यो । नेकपा(एमाले)मा लगातार ३३ बर्ष केन्द्रीय सदस्य भएपनि म कहिल्यै नेता थिइन । म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ । समाज बदल्न हिँडेको वास्तबिक झोले कार्यकर्ता थिएँ ।

मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिन । सपना असल कम्युनिष्ट बन्ने थियो तर सबै मानकहरू पूरागर्न सकिन । अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन । साधरण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भब काम गरिरहनेछु ।

गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद ब्यक्तगरेर, खुसीले, ६६ बर्षको उमेरमा सक्रिय राजनीतिबाट विदा भएको छु । लामो राजनीतिक जीवनमा मबाट भएका भूलचुकहरू प्रति सम्बन्धित सबैसँग क्षमा माग्दछु ।

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार ०६:११