प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख
४ पुस, काठमाडौँ । अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म रु ११ करोड १५ लाखबराबरको बीमा रकम भुक्तानी भएको छ ।
बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमादाबी परेको थियो । त्यसमा कुल रु चार अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ९६ वटा दाबीको भुक्तानी भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिनुभयो ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुईवटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीमध्ये ३३ वटाको भुक्तानी भएको छ । सम्पत्ति बीमामा रु तीन अर्ब ५८ करोड ३२ लाखबराबरको दाबी परेको थियो । प्राधिकरणका अनुसार सो दाबीमा रु नौ करोड ६४ लाखबराबरको भुक्तानी भएको छ ।
त्यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिब रु ५१ करोड ५७ लाखमध्ये कुल सातवटा दाबीको रु नौ लाख बीमितलाई भुक्तानी भएको छ । कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबी परेको थियो । त्यसमा करिब रु चार करोड १४ लाख दाबी रकममध्ये कुल ४२ वटा दाबीको रु १९ लाख भुक्तानी भएको छ ।
यस्तै, मोटर बीमा (निजी)तर्फ ४० वटा बीमा दाबीको करिब रु दुई करोड ८२ लाख दाबी रकममध्ये कुल १२ वटा दाबीको रु एक करोड २० लाख भुक्तानी भएको छ । सामुद्रिक बीमातर्फ चारवटा बीमा दाबीको रु ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये दुईवटा दाबीको रु तीन लाख दाबी रकम बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
यस्तै, मोटर बीमा (सार्वजनिक)तर्फ १० वटा दाबीको रु एक करोड १९ लाख र लघुबीमातर्फ दुईवटा दाबीको रु १२ लाख बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म सुरु नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार ०५:५६












