एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौंः केपी ओली
३ पुस, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण वा कानुनी प्रहार भए देश ठप्प पार्ने चेतावनी दिनुभएकाे छ ।
बिहीबार काठमाडौँमा शपथग्रहण समारोहलगत्तै कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वलाई छुन खोज्नु संसारकै सबैभन्दा महँगो पर्ने चेतावनी दिनुभएकाे छ । ओलीले पार्टी नेतृत्वविरुद्ध भइरहेका विभिन्न प्रचार र हल्लाहरूलाई पञ्चायतकालीन कूकर्मको संज्ञा दिँदै त्यसको सशक्त प्रतिकार गर्न पार्टी पंक्तिलाई निर्देशन समेत दिनुभएकाे छ ।
सुशीला कार्की नेतृत्वको सरकारलाई तत्काल ढाल्नुपर्ने बताउँदै अध्यक्ष ओलीले त्यसका लागि देशभरबाट तयारी हालतमा रहन तेता तथा कार्यकर्तालाई आह्वान समेत गर्नुभयाे।

ओलीले मिडिया ट्रायलमार्फत नेतृत्वलाई बदनाम गराउन खोजिएको आरोप लगाउँदै अब कुराले मात्र नभई कामले नै आफूलाई प्रमाणित गरेर देखाउने बताउनुभयाे। एमालेको शक्तिलाई नजरअन्दाज नगर्न चेतावनी दिँदै ओलीले आन्दोलनका लागि जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहन नेता तथा कार्यकताई निर्देशन दिनुभएकाे छ ।
कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भन्नुभयाे, ‘नेकपा (एमाले)को नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कुकर्महरूको फेरी थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुन सक्दछ । म तपाईँहरूलाई भन्न चाहन्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । ढालिनेछ यो सरकार । यसका निम्ति नेकपा (एमाले)ले देशभरिबाट तयारी हालतमा बस्नुपर्दछ । संसारमा केही महँगो पर्थ्यो भने एमालेलाई छुनु महँगो पर्नेछ । यो कुराको लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ । गरेर देखाउनुपर्दछ ।’
प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार २०:५०












