प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्ष अमेरिकी नागरिक, किन हुँदैन कारबाही ?
३ पुस, काठमाडाैँ । प्रभु समूहसँग जोडिएको कर्जा हिनामिना प्रकरणले थप नयाँ मोड लिँदै जाँदा नयाँ नयाँ तथ्यहरू सार्वजनिक भैरहेका छन । विवादित व्यवसायी देवीप्रकाश भट्टचनकी सुपुत्री शिक्षा भट्टचन अमेरिकी नागरिक भएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष रहेको खुलासा भएको छ ।
योसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यस विषयमा पनि अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । सीआईबीले कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेपछि समूहभित्रको शक्ति–सञ्जाल क्रमशः खुल्दै गएको छ। स्वास्थ्य अवस्थाको कारण देखाउँदै उनी कात्तिक १५ गते रिहा भए पनि, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित अन्य उच्च अधिकारीहरू भने गत १४ मंसिरदेखि अझै प्रहरी हिरासतमै छन् । प्रभु समूहले प्रभु बैंकबाट लिएको कर्जाको मनपरी प्रयोग र त्यसमा देखिएको सम्भावित आपराधिक संलग्नतामाथि सीआईबीले अनुसन्धान गरिरहेको छ।
कानुन के भन्छ ?
बीमा ऐन, २०७९ को दफा ८ (३) (क) ले स्पष्ट रूपमा भन्छ अध्यक्ष र सदस्य हुन अनिवार्य रूपमा नेपाली नगारिक हुनुपर्छ । दफा ८ को अध्यक्ष वा सदस्यको योग्यता र अयोग्यता सम्बन्धी उपदफा (३) (क) मा गैर नेपाली नागरिक त्यस्तो पदमा नियुक्तिका लागि अयोग्य मानिने उल्लेख ।

यस्तै, नेपाल राष्ट्र बैंक अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका लागि लागू बैंक तथा वित्तीय संस्था ऐन, २०७३ मा पनि सञ्चालक, अध्यक्ष वा प्रमुख पदमा रहने व्यक्तिले नेपाली नागरिकता अनिवार्य रूपमा कायम राख्नुपर्ने व्यवस्था छ।
यति मात्र होइन, नेपालको संविधानको धारा २८९ ले सार्वजनिक पद तथा संवैधानिक/नियामक निकायसँग सम्बन्धित पदहरूमा विदेशी नागरिकको संलग्नतालाई निषेध गरेको मर्म पनि यही दिशामा केन्द्रित छ। बीमा कम्पनी सार्वजनिक सेयर संरचनामा आधारित (पब्लिक लिमिटेड) संस्था भएकाले त्यसको अध्यक्ष पद निजी विषय मात्र नभई सार्वजनिक सरोकारको विषय हो।
प्रहरी स्रोतका अनुसार शिक्षा भट्टचनका सम्बन्धमा दुई विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीका एक अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा शिक्षा भट्टचन अमेरिकी नागरिक भएको विवरण आएको छ। ‘यदि उहाँ अमेरिकी नागरिक हुनुहुन्छ र नेपाली नागरिकता त्याग नगरी सार्वजनिक बीमा कम्पनीको अध्यक्ष बन्नुभएको हो भने, यो बीमा ऐन उल्लंघन मात्र होइन, नागरिकता सम्बन्धी कानुन उल्लंघनको विषय पनि हुन सक्छ,’ ती अधिकारी भन्छन् ।

नेपाल नागरिकता ऐनअनुसार विदेशी नागरिकता स्वेच्छाले लिएपछि नेपाली नागरिकता स्वतः खारेज हुने व्यवस्था छ । यस्तो अवस्थामा नेपाली नागरिकको हैसियतमा सार्वजनिक पद धारण गर्नु कानुनी रूपमा अमान्य हुन्छ ।
नागरिकता विवदामा पद चट
नागरिकता विवादकै कारण यसअघि तत्कालीन गृहमन्त्री तथा सांसद रबि लामिछानेले पद गुमाउनुपरेको थियो। फरक यति हो—लामिछानेले अमेरिकी नागरिकता पहिल्यै त्यागिसकेको प्रमाण पेश गरेका थिए, त्यसैले उनीमाथि आपराधिक मुद्दा चलेन । शिक्षा भट्टचनको हकमा भने अमेरिकी नागरिकता त्यागिएको कुनै सार्वजनिक प्रमाण अहिलेसम्म बाहिर आएको छैन।
बीमा कम्पनी स्रोतका अनुसार उनी हाल पनि अमेरिकामै बसोबास गरिरहेकी छन् । यस्तो अवस्थामा नेपालमा दर्ता सार्वजनिक बीमा कम्पनीको अध्यक्ष पदमा रहनु कानुनी रूपमा मात्र होइन, नैतिक रूपमा पनि गम्भीर प्रश्न बनेको छ।
यो पनि पढ्नुहोस्
जनताको पैसा प्रभु बैंकमार्फत मिडियामा, चार वर्षमा झण्डै डेढ अर्ब स्वाहा
प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १०:२६












