१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

नेपाल ट्रष्टको जग्गा लिज प्रकरणः केपी ओलीको स्वकीयलाई ४ करोडको घर घुस

१ पुस, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा चार करोडको घर घुस खाएको तथ्य प्रहरीले प्राप्त गरेको छ ।

जग्गा लिजमा दिने पक्रियामा तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्य जोडिएका हुन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले बज्राचार्यले लिज प्रकरणमा चार करोडको घर घुस खाएको तथ्य फेला पारेको हो ।

प्रहरी स्रोतका अनुसार नेपाल ट्रस्टको जग्गा लिज प्रकरण चलेकै समयमा राजेशको श्रीमती रश्मी शाक्यको नाममा बालकोटमा घरजग्गा खरिद भएको पाइएको छ। उक्त घरको मूल्य करिब चार करोड पर्ने अनुमान प्रहरीको छ । प्रहरीले घरजग्गा खरिदको स्रोत माग गर्दा राजेश र श्रीमतीले त्यसको स्रोत देखाउन नसकेको प्रहरीले जनाएको छ ।

dainiki.com

दरबार मार्गको जग्गा लिजमा दिने विवादित निर्णय र रश्मीको घर पास एकै समयमा भएको देखिएको छ । स्रोत खुलाउन नसकेपछि प्रहरीले यो घर यति समूहबाट घुस बापत प्राप्त गरेको निष्कर्ष निकालेको छ ।

प्रहरीले राजेशको श्रीमतीलाई समेत लिज प्रकरणको मुद्दामा प्रतिवादी बनाउन सिफारिस गरेको छ । सीआईबीले सङ्गठित अपराधअन्तर्गत अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलकोमा बुझाइसकेको छ । दरबारमार्गको महँगो जग्गा थामसेर्कु ट्रेकिङलाई लिजमा दिँदा बदनियतपूर्ण तरिकाले राज्यलाई हानी नोक्सानी पुर्याएको प्रहरीको ठहर छ ।

यस प्रकरणमा सीआईबीले ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की र पूर्वसचिव अर्जुनबहादुर कार्की, जग्गा भाडामा लिने कम्पनीका तर्फबाट लाक्पा सोनाम शेर्पा, घुस वापत घर बुझ्ने रश्मी सबैलाई प्रतिवादी बनाउन सिफारिस गरेको पाइएको छ ।

यद्यपी सरकारी वकिलको कार्यालयले यस मुद्दा संगठित अपराध भन्दा भ्रष्टाचार आकर्षित हुने भन्दै थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग पठाउने तयारी गरेको बुझिएको छ ।

राजेशले पदको दुरूपयोग गरेर व्यापक आर्थिक चलखेल गरेको आरोप यसअघि देखि नै लाग्दै आएको थियो । यद्यपी उनका गतिबिधिमा प्रश्न उठे पनि ओलीले चुपचाप निरन्तर संरक्षण गर्दै आइरहेका छन ।

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार ०७:२५