२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

सचिवालयमा असफल भएका ओलीले केन्द्रीय कमिटीबाट एमालेको विधान संशोधन गर्दै

२८ मंसिर, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । सचिवालय बैठकबाट विधान संशोधनको प्रस्ताव लैजान असफल भए पछि केन्द्रीय कमिटीको बाटोबाट विधान संशोधनको प्रस्ताव लैजान उहाँले केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको हो ।

उहाँले पदाधिकारीमा दोस्रो विधान महाधिवेशनले गरेको प्रस्ताव हटाउँदै पुरानै व्यवस्था कायम गर्नेगरी अघि बढ्न विधान संशोधनको प्रस्ताव गर्न लाग्नुभएको हो । यसअघि सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले प्रतिवाद गरेपछि सचिवालय बैठकमा राखेको प्रस्ताव ओलीले फिर्ता लिनुभएको थियो । केन्द्रीय कमिटी बैठकका लागि एमालेले जम्मा एक घण्टा अघि सूचना दिएर ९ बजेका लागि बोलाएको छ ।

ओलीले पोखरेल समूहलाई पेलेर अघि बढ्ने नीति अख्तियार गर्नुभएको छ । महाधिवेशनको उद्घाटनमा स्वागत मन्तव्य समेत राख्न नदिनुभएको ओलीले आज बोल्ने अवसर समेत नदिएर विधान संशोधन गरेर निर्वाचन प्रकिया अघि बढाउने तयारी गर्नुभएको हो ।

यसअघि १०८ प्रतिनिधि मनोनित गर्दा पनि ओलीले सचिवालय बैठकको निर्णय विपरित नाम सार्वजनिक गर्नुभएको थियो । पदाधिकारीमा आकांक्षी बढी भएपछि शंकर पोखरेल र विष्णु रिमालको पद सुरक्षित राख्ने ओलीले विधान संशोधनमा जवर्जस्ती गर्न खोजेको उहाँ निकटकै नेताहरूले बताएका छन ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार ०८:२१