एमाले महाधिवेशनमा आजदेखि बन्दसत्र, यी हुन ओलीले नियुक्ति दिने सम्भावित पदाधिकारी
२८ मंसिर, काठमाडौँ । नेकपा (एमाले)को एघारौँ महाधिवेशन आजदेखि बन्दसत्रमा प्रवेश गर्दैछ । शनिबार भक्तपुरको सल्लाघारीमा भव्य उद्घटान समारोह गरेर ५० हजार भन्दा बढी कार्यकर्ता उतारेको एमालेले आजदेखि भावि नेतृत्व चयनको लागि प्रकिया सुरू गर्नेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा आफ्नो समूहको प्यानल सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । उहाँले सहमतिको नाममा आफ्नो गुटका उम्मेदवारको सूची दशौँ महाधिवेशनमा जस्तै गरी पेश गर्ने निकट नेताहरूले बताएका छन ।
ओलीले अध्यक्षमा आफूलाई तेस्रो कार्यकालका लागि अघि सार्दै गर्दा आफू नेतृत्वको प्यानलमा उपाध्यक्षमा रामबहादुर थापा, विष्णु पौडेल र गुरू बराल रहनुभएको छ । त्यस्तै महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमालले प्यानलमा नियुक्ति पाउने सम्भावना छ । सचिवहरूमा लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठ, छवीलाल विश्वकर्मा, भानुभक्त ढकाल, शेरधन राई र महेश बस्नेतलाई नियुक्ति दिने सम्भावना रहेको छ ।

यद्यपी उपमहासचिव ज्ञवाली र गुरूङले पनि महासचिवमा दाबी राखिरहनुभएको बुझिएको छ । ओलीले निर्णय गरेपछि बाँकीले कुनै प्रतिक्रिया नजनाइ कार्यान्वयन गर्नुपर्ने हुँदा तीन नयाँ अनुहारलाई पदाधिकारीमा प्रवेश गराएर बाँकी पुरानै टिम दोहोर्याउने सम्भावना रहेको नेताहरू बताउँछन ।
यता अध्यक्षसहित सबै पदमा उम्मेदवारी दिने तयारी गरिरहेको पूर्व राष्ट्रपति विद्यादेवी समूहका नेताहरू पनि छलफमै रहेको बुझिएको छ । यस समूहबाट प्यानलको अध्यक्षमा ईश्वर पोखरेल र उपाध्यक्षमा महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई लगायतले अवसर पाउने सम्भावना रहेको छ । त्यस्तै सचिवमा डा विन्दा पाण्डे, कर्ण थापा, विनोद ढकाल, गोकुल बाँस्कोटा, रचना खड्का, ठाकुर गैरे लगायतले अवसर पाउने सम्भावना छ । यो समूहमा पदाधिकारीका आकांक्षी सबैजसो नेता सामूहिक छलफलमा रहेको बुझिएको छ ।
प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार ०६:५९












