२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

एमाले महाधिवेशन सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने विद्या भण्डारीको विश्वास

२७ मंसिर, काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन सफलताका लागि शुभकामना दिनुभएको छ । उहाँले शनिबार फेसबुक मार्फत शुभकामना दिनुभएको हो । उहाँले एमाले महाधिवेशन सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने विश्वास पनि लिनुभएको छ ।

यस्तो छ भण्डारीले दिनुभएको शुभकामना

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देशका विभिन्न स्थानबाट काठमाडौँ आउनुभएका सम्पूर्ण प्रतिनिधिहरूलाई काठमाडौँको जाडोमा न्यानो स्वागत गर्दछु ।

तपाईँ महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता समेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे अवगत नै हुनुहुन्छ । यस्तो परिवेशमा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएको छु ।

मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस्, हार्दिक शुभकामना !

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार ०९:१४