जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि कार्यक्रम अपुरो हुन्छः सञ्चारमन्त्री खरेल
२६ मंसिर, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्द्वारा शुक्रबार आयोजित ‘सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद’ विषयक कार्यक्रममा मन्त्री खरेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौतामा जनआन्दोलनको मान्यता दिइसकिएकाले त्यस आन्दोलनलाई कसैले पनि नजरअन्दाज गर्न नमिल्ने बताउनुभएको हो । “अबको समय मात्रै होइन, हिजो र भोलिको समय पनि युवाकै हो ।
युवाले केही गर्न सक्दैनन् भन्ने भ्रम जेनजी आन्दोलनले तोडिदिएको छ । र उनीहरुले परिवर्तनका लागि बलिदान दिन सक्छन् भन्ने देखाएका छन् ।”, नेपाल सरकारका प्रवक्ता खरेलले भन्नुभयो, “हरेक चरणका आन्दोलनमा युवाको भूमिका रहँदै आएको छ । युवाहरुले चाहेमा २७ घन्टामा कायापलट हुन सक्छ भनेर प्रमाणि गरे तर यस पटक जेनजीहरु सरकारमा आउन चाहेनन् । त्यसकारण यो निस्वार्थ आन्दोलन हो । उनीहरु आफू सत्तामा आउन चाहेनन्, सुशासन र रोजगारीको माग मात्रै गरे ।”
उहाँले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद अपुरो हुने भन्दै युवाहरु नेतृत्वमा आउन सक्दैनन्, उनीहरु दास र हनुमान मात्रै बन्ने हुन् भन्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताउँदै एउटा नेतालाई ३०–३५ वर्ष उसको दास बनेर युवा बस्न मिल्छ ? भन्ने प्रशन गर्नुभयो । उहाँले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा हुनेवाला भएको र त्यसलाई कसैले रोकेर नरोकिने भनाइ व्यक्त गर्नुभयो । “अब हरेक राजनीतिक पार्टीले युवाहरुलाई नेतृत्वमा ल्याउन तयार नभई सुखै छैन । नेपालको अहिलेको वर्तमानले युवा र राजनीतिमा जाजल्यमान भविष्य देखाइरहेको छ ।”
मन्त्री खरेलले निकट भविष्यमा हुने राजनीतिक दलहरुको महाधिवेशनमा कति युवा आउँछन् ? आगामी फागुन २१ गते हुने चुनावमा कति प्रतिशत युवाले टिकट पाउँछन् ? भन्ने प्रश्नले ती दलहरु कत्तिको युवामैत्री छन् भन्ने झल्कने बताउँदै उहाँले अब युवाहरु कुनै वादको बन्दक नभई अधिकार लिने र देश बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चार क्षेत्रले पनि यस आयामलाई बोक्न सक्नुपर्ने बताउँदै मुलुक परिवर्तनको बाटोमा सरकारको साथ रहने बताउनुभयो । राष्ट्रियसभाका सदस्य एवं जनसङ्ख्या एवं विकासका लागि संसदीय सञ्जालका महासचिव गङ्गाकुमारी बेलवसेले युवालाई समस्या नभई समाधान, ऊर्जा र नवप्रवर्तनका रुपयमा उपयोग गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा र मिडियाका आयामलाई जवाफदेहितासँग जोडेर काम गर्न सक्नुपर्नेमा जोड दिँदै नीतिगत तहमा युवाहरुको प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मनिता श्रेष्ठले शिक्षा र रोजगारीमार्फत सक्षम जनशक्तिको सदुपयोग गरेर राज्यलाई बलियो बनाउनुपर्ने बताउनचुभायो । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या विकाससम्बन्धी निकायका नेपाल प्रतिनिधि श्रीराम हरिदासले मिडिया, युवा र जवाफदेहिताका विषयका संवादलाई निरन्तरता दिन अत्वाश्यक भएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले जेनजी आन्दोलनमा सञ्चार क्षेत्रमाथि पनि भौतिक प्रहार हुनुले मिडियामाथि पनि आक्रोस रहेछ भन्ने बुझेर सामग्रीमा पुनः विचार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकारिताका अध्यापकहरु डा जगत नेपाल, लेखनाथ पाण्डे, सञ्चारकर्मी टीकाराम यात्री र जेनजी प्रतिनिधि राजेन्द्र अधिकारीलगायतले सत्य र तथ्यका आधारमा युवा र मिडियाको अन्तरसंवाद बढाउन आग्रह गर्नुभयो । परिषद्का सदस्यसचिव गेहनाथ गौतमले नयाँ परिवेशमा युवालाई समेटेर राष्ट्रलाई दिशाबोध गराउन संवाद गरिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १४:४२







