२५ मंसिर २०८२, बिहीबार | Thu Dec 11 2025

एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा

२५ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताउनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आउनुभएका राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा हेर्ने माहोल बनेको बताउनुभयो । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी पदाधिकारमा क्रमैसँग अघि बढ्दै आएको अनुभवका आधारमा सचिव पद स्वाभाविक दाबी भएको उल्लेख गर्नुभयो । राईका अनुसार १०औँ महाधिवेशनमा पनि पदाधिकारीमा जान खोजे पनि अन्ततः सहमतिका कारण स्थायी कमिटीमै बस्नुपरेको थियो ।

राईले आफू पार्टीका हरेक चुनौती र सङ्कटमा अडिग रूपमा उभिएको नेता भएको दाबी गर्दै भन्नुभयो, “म पार्टीबाट नबरालिएको मान्छे हो । आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु ।”

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार २०:५४