२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

प्राधिकरण फर्किएर हितेन्द्रदेवले भनेः एमडी भएकैले मेरो घर जल्यो, तर त्यो पीडा सम्झेर बस्दिनँ

२४ मंसिर, काठमाडाैँ। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गर्नुभएकाे छ । सर्वोच्च अदालतको परमादेशअनुसार शाक्यले बुधबार बिहान प्राधिकरणमा पुगेर पदबहाली गर्नुभएकाे हाे । सर्वोच्च अदालतले सोमबार शाक्यको प्राधिकरणमा पुनर्बहाली हुने परमादेश जारी गरेको थियो ।

पदभार ग्रहण गर्दै शाक्यले तीन दशकभन्दा लामो समय आफूले निश्वार्थ सेवा गरेको र त्यसलाई थप सक्रिय भएर निरन्तरता दिने बताउनुभयाे । आफ्नो कार्यकाल अब साढे तीन वर्ष बाँकी रहेको र यो समयमा प्राधिकरणका लागि आफ्नो योग्यता र क्षमताले भ्याएसम्म काम गर्ने उहाँको भनाइ छ।

अब प्राधिकरणले आफ्नै अग्रसरतामा विद्युत आयोजना निर्माण गर्ने समेत उहाँले बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘गुणस्तरिय भरपर्दो र निरन्तर विद्युत आपूर्तिका लागि प्राधिकरणको प्रणाली सुधारमा अधिकतम ध्यान दिएर काम अगाडि बढाउँछु। प्राधिकरणकै एमडी भएकाले मेरो घर जल्यो। म पिडामा परेँ। तर त्यो पिडा सम्झिएर बस्दिनँ। अब म काममा अगाडि बढें’।

अहिले अदालतले न्याय दिएको समेत उहाँले बताउनुभयाे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएलगत्तै कुलमान घिसिङले असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशक पदबाट हटाएर मनोज सिलवाललाई जिम्मा दिनुभएकाे थियाे । आफूलाई पाँच वर्षका लागि नियुक्त गरेको र अन्याय भएको भन्दै कुलमान घिसिङको निर्णय विरुद्ध शाक्य सर्वोच्च जानुभएकाे थियाे ।

सोमबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पूर्ववत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा काम गर्न परमादेश जारी गरेको थियो।

सोही अनुरूप शाक्यले बुधबार बिहान कार्यकारी निर्देशकको पदभार गरेका हुन्।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार १२:१८